गैरकानूनी रूपमा नेपाल प्रवेश गरेका दुई चिनियाँ नागरिक कपिलवस्तुमा  पक्राउ ।


११ मंसिर ।
जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका-५, घेराउजोतमा गैरकानूनी रूपमा भारत हुँदै नेपाल प्रवेश गरेका दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। २०८१ मंसिर ११ गते बिहान ९:३० बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्तीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चिनियाँ नागरिकहरूमा ३२ वर्षीय LIGUANGUI र ३५ वर्षीय XTAO रहेका छन्। उनीहरूलाई भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लाको कक्रहवा क्षेत्रबाट २३ वर्षीय अरबाज शेषले गाइड गरी नेपालतर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो। चेकजाँचका क्रममा LIGUANGUIको साथमा चिनियाँ पासपोर्ट फेला परेको भए पनि XTAOसँग पासपोर्ट नभएको पाइएको छ।
LIGUANGUIको साथबाट २ थान ल्यापटप, विभिन्न कम्पनीका ६ थान मोबाइल, र भारतीय मुद्रा १४,७५० रुपैयाँ बरामद गरिएको छ। तीनै जनालाई आवश्यक अनुसन्धानका लागि बरामद सामग्रीसहित अध्यागमन कार्यालय, बेलहिया, रुपन्देही पठाइएको कपिलवस्तु प्रहरीले बताएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top