
काठमाडौँ । उत्पादनको कमी र भारत निर्यात गरिएका कारण नेपालमा गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।
एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए । उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए ।
व्यावसायीहरुले केही समयपहिला नेपालमा उत्पादन उच्च रहेको बेला भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन् ।
उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको र नेपालबाट भारत निर्यात गरिनाले यता मूल्य बढेको बताइन् । एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको उनको भनाइ छ । नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको उनको भनाइ छ ।
यदि गोलभेडा भारत नगएको भए अहिले नेपाली बजारमा ५० रुपैयाँ किलोभन्दा माथि जाने अवस्था नभएको उनको अनुभव छ । उनले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको बताइन् । भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेडा गइरहेको बताउँदै उनले अहिले नेपाली बजारमा गोलभेडा किलोको १४० रुपैयाँसम्म रहेको बताइन् ।
गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताए । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको भन्दै गोलभेडा बाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य वृद्धि नभएको बताए ।
अर्का तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्यमा पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए । उनले नेपाली उत्पादन गोलभेडा यो वर्ष नै सडकमा फाल्ने देखि १४० रुपैयाँसम्म मुल्य पुग्ने खालको उतारचढाव देखिएको बताए । कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको सुनाउँदै उनले कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताए ।
कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।