
भवन शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुशीला सिंखडाले व्यावहारिक गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिइन् । उनले शिक्षा क्षेत्रलाई राजनीतिक थलो बनाउन नहुने औंल्याइन् । उनले प्रदेश सरकारले जारी गर्नेे शिक्षा सम्बन्धी ऐन ड्राफ भइरहेको जानकारी दिँदै सबैले संघीय सरकारलाई पनि चाँडै शिक्षा ऐन ल्याउन दबाब दिनुपर्ने बताइन् ।
मन्त्री सिंखडाले छिटो छरितो गुणस्तरीय रुपमा भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै भवनलाई पूर्णता दिन मन्त्रालयको सहयोग रहने प्रतिबद्धता समेत जनाइन् ।
प्रदेश सभा सदस्य देवका पहारी त्रिपाठीले पूर्वाधारबिना विद्यार्थी ल्याउन नसकिने उल्लेख गर्दै शैक्षिक संस्थाले अभिभावक र विद्यार्थीको विश्वास जित्न सक्नुपर्ने बताइन् । उनले आधा पेट खाएर हेमजामा क्याम्पस स्थापना गरेको स्मरण गरिन्।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले क्याम्पस त्यस क्षेत्रकै महत्वपूर्ण शैक्षिक संस्था रहेको उल्लेख गरे । उनले पूर्वाधार निर्माणमा चासो दिएजस्तै विद्यार्थी संख्या बढाउन पनि क्याम्पस प्रशासनले अग्रसरता लिनुपर्ने बताए ।
सल्लाहकार रामचन्द्र त्रिपाठीले विभिन्न आरोहअवरोबीच क्याम्पस सञ्चालन भइरहेको उल्लेख गर्दै राज्य सञ्चालनको नेतृत्वमा रहेकाहरु राष्ट्र निर्माणमा गम्भीर बन्नुपर्ने सुझाए ।
नेकपा माओवादी केन्द्रका वडाध्यक्ष महादेव अधिकारीले क्याम्पस हेमजाको प्रतिष्ठासँग जोडिएको धारणा राख्दै सबै सरोकारवाला क्याम्पसको उन्नयनमा होमिनुपर्ने बताए ।
कार्यक्रमबीच सहायक प्राध्यापक राजाराम पोखरेल पब्लिक क्याम्पस प्राध्यापक संघ गण्डकी प्रदेशको अधिवेशनबाट हालै सहसंयोजक चयन भएकोमा बधाईसहित सम्मान गरियो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष देवकृष्ण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रमा त्रिपाठीले स्वागत र क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।