गौरीशंकर माविको वार्षिकोत्सव

पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह मंगलबार सम्पन्न भयो । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्तासमेत रहेका वडाध्यक्ष मोतीलाल तिम्सिनाले सामुदायिक विद्यालयको स्थायित्वमा जोड दिँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले स्थापना कालदेखि गौरीशंकरले राम्रै कार्य गर्दै आइरहेको स्मरण गर्दै विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिए ।

त्यस अवसरमा जिल्ला शिक्षा समन्वय प्रमुख लोकनाथ आचार्य, महानगरपालिकाका शिक्षा अधिकृत कृष्ण भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष शुकबहादुर रसाइली, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले पनि धारणा राखे । त्यस्तै विभिन्न छात्रवृत्ति वितरण गर्नुका साथै विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीलाई सम्मान पनि गरियो ।

कार्यक्रममा बीच उत्कृष्ट शिक्षकका रुपमा नारायणी कुँवर र सरस्वती केसी थापा पुरस्कृत भए । त्यस्तै प्रधानाध्यापक अम्बरबहादुर कुँवरले वार्षिक प्रतिवेदन तथा लेखापाल विष्णुहरि पौडेलले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरे ।

विद्यालयका अध्यक्ष भोजराज पौडेलले सरोकारवालाका सुझावलाई ग्रहण गर्दै विद्यालयलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै अव विद्यालयमा प्राविधिक विषय पठनपाठनको प्रक्रिया पनि अगाडि बढाउनुपर्ने औंल्याए ।

विद्यालयका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक मानबहादुर कार्कीले स्वागत तथा शिक्षक हरि गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top