घोराही सिमेन्टको आइपिओमा नीतिगत बेइमानी, बजारले स्वीकार नगर्दा लाग्यो नेगेटिभ सर्किट

घोराही सिमेन्टको आइपिओमा नीतिगत बेइमानी, बजारले स्वीकार नगर्दा लाग्यो नेगेटिभ सर्किट

काठमाडौं । अंकित मूल्य एक सय रुपैयाँको सेयरमा ३३५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ४३५ रुपैयाँमा घोराही सिमेन्टले बेचेको सयर आइतबार दोस्रो बजारमा खरिद बिक्री खुल्यो । तर कारोबारको पहिलो दिन नै घोराहीका लगानीकर्ताहरु निराश भए किनभने घोराहीको सेयरमा खरिदकर्ताको आकर्षण देखिएन । पहिलो दिन नै नेगेटिभ सर्किट लाग्यो ।

५६५ रुपैयाँ ५० पैसामा कारोबार खुलेको घोराहीको मूल्यमा १० प्रतिशतले घट्न पुग्यो । घोराही सिमेन्ट इन्डष्ट्रीले सर्वसाधारणबाट प्रिमियममा आइपिओ बेचेर साढे तीन अर्बभन्दा बढी रकम संकलन गरेको थियो ।

सामान्यभन्दा चार गुणा बढी मोल लिएर घोराहीले त आफ्नो दुनो सोझ्यायो तर यो कम्पनीको सेयर खरिद गरेका सर्वसाधारणको हात चाहिँ रित्तो होला कि भन्ने प्रारम्भिक संकेत देखा परेको छ ।

सेयर मार्केटका जानकारहरुले घोराही सिमेन्टको सेयरको मूल्य पहिलो दिन नै ओरालो लाग्नुमा केही नीतिगत त्रुटि भएको औल्याएका छन् ।

बित्तिय अवस्था राम्रो नभएको कम्पनीलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न दिइनु, कम्पनीले पेश गरेको कागजातको राम्रो अध्ययन नगरिनु, स्वार्थ बाझिने कम्पनीबाट रेटिङ हुनु र अहिले घोराहीको रेटिङ नै रद्दको स्थितिमा पुग्नुले यो मामिलामा नेपाल धितोपत्र बोर्ड नराम्ररी चुकेको टिप्पणी भइरहेको छ ।

घोराहीले गरेको थियो रेटिङ कम्पनी परिवर्तनः साढे तीन अर्ब संकलनपछि रेटिङ रद्द !

घोराही सिमेन्टले आइपिओ जारी गर्दा ‘स्वार्थ बाझिने’ कम्पनीबाट रेटिङ गराएको आरोप लाग्यो । यस्तो आरोपपछि नेपाल धितोपत्र बोर्डले पनि छानविन गर्ने भन्दै एउटा समिति गठन गर्यो । खासमा घोराही सिमेन्ट इन्डष्ट्रि र रेटिङ गर्ने कम्पनी ‘केयर रेटिङ नेपाल’मा दुवै तर्फ दुई कम्पनीको लगानी थियो ।

केयर रेटिङ नेपालमा ५१ प्रतिशत शेयर भारतीय कम्पनीको छ । ४९ प्रतिशत शेयर नेपाली कम्पनीहरुको देखिन्छ ।

यो कम्पनीमा घोराही सिमेन्टकै लगानीकर्ता विशाल ग्रुपको १० प्रतिशत लगानी रहेको छ । केयर रेटिङ नेपालका अन्य नेपाली लगानीकर्ताहरुमा पनि घुमाउरो तरिकाले विशाल र त्रिवेणी गु्रपकै लगानी रहेको छ ।

घोराही सिमेन्टको शाख मूल्यांकन गर्ने र मूल्यांकन गराउने कम्पनी दुवैको मालिक एउटै समूह भएका कारण यो विषय विवादित रहेकै बेला धितोपत्र बोर्डले असार २० मा प्राथमिक सेयर निष्कासनको प्रक्रिया केही समय रोकेर पुनः खोलिदिएको थियो ।

तर, अहिले ‘केयर रेटिङ नेपाल’ले एक विज्ञप्ति जारी गर्दै घोराहीको रेटिङ रद्द गरिएको सूचना आफ्नो वेभसाइटमा राखेको छ ।

केयर रेटिङले ‘स्वार्थ बाझिने’ देखेर रेटिङ रद्द गरेको सूचना निकालेर कुनै इमान देखाएको भने होइन ।

स्वार्थ बाझिने कम्पनीको क्रेडिट रेटिङ गर्दा कानुन अनुसार दण्डिट हुनु पर्ने सम्भावना बढेपछि केयर रेटिङ नेपालले घोराहीको रेटिङ रद्द गरेको हो । तर, एक पटक भइसकेको रेटिङ कुनै कम्पनीले आफू खुसी रद्द गर्न पनि पाउँदैन ।

क्रेडिट रेटिङ नियमावली २३ को उप नियम २ मा धितोपत्र निष्कासन गर्ने कम्पनी खारेज भए मात्रै रेटिङ फिर्ता लिन सकिने उल्लेख छ । तर अहिले घोराही सिमेन्ट खारेज भएको छैन ।

केयर रेटिङले भने आफ्नो रेटिङ फिर्ता लिइसकेको छ । स्वार्थ बाझिने मामिला विवादित भइसकेपछि घोराही सिमेन्टले साउन ५ गते इन्फोमेरिक्स केयर रेटिङ नेपाल नामक यो कम्पनीबाट रेटिङ गराएको थियो ।

घोराहीले असारमै सेयर बेचेर साढे तीन अर्ब संकलन गरिसकेको थियो, तर सेयर बेच्नकै लागि गरिनु पर्ने क्रेडिट रेटिङ चाहिँ उसले साउन ५ मा गर्नुले ‘केडिट रेटिङ’ प्रष्टै जालझेल गरेको देखिन्छ ।

घोराही सिमेन्टको आइपिओमा भएको कैफियतबारे अनेक प्रश्न एक साथ उठेपछि असार ५ गते प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेर धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ‘रेटिङ गर्ने कम्पनी, शेयर प्रत्याभूतिकर्ताको भूमिका र नक्कली आवेदनहरुको अध्ययन गर्ने’ जवाफ दिएका थिए ।

अध्यक्ष हमालले रेटिङ गर्ने कम्पनीबारे छानविन गर्ने बताएका मात्रै थिएनन्, छानविन गर्न एक समिति पनि गठन गरियो । तर स्वार्थ बाझिएको कम्पनीको निक्र्योल हुनु अघि नै शेयर सम्बन्धी सबै कामहरु फटाफट अघि बढे ।

विवाद नसुल्झाई गर्नै नहुने खरिद बिक्री भइसक्दा पनि धितोपत्र बोर्डको अनुसन्धान अझै पूरा भएको छैन ।

घोराहीले जेठ ३२ मा बुक बिल्डिङ बिधिबाट प्रतिशेयर ४३५ रुपैयाँमा प्राथमिक सेयर निष्कासन गरेको थियो । बिक्री समय चार दिन राखिएको थियो ।

शेयर निष्कासन भएको तेस्रो दिन नै ओभर सब्सक्राइब्ड भएको सूचना जारी गरियो । तर ओभर सब्सक्राइब्ड भइसकेको भनिएको सेयर खरिद प्रस्ताव गर्ने मिति असार १४ सम्म अनायासै बढाइयो ।

वित्तिय स्थिति राम्रो नरहेको घोराहीको शेयर महँगोमा भिडाउन कृत्रिम खरिद प्रस्ताव सिर्जना गरिएको थियो ।

यो विषय विवादित बनेपछि नेपाल त्रितो पत्र बोर्डले केही समय अनुसन्धान गर्ने भन्दै घोराहीको आइपिओ रोक्यो । तर असार २० मा खरिद प्रस्ताव फिर्ता लिन तीन दिनको समय दिएर बिक्री खुला गरेको सूचनो जारी गरेको थियो ।

(भिडियाे)

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *