- सुस्मिता वानिया
काठमाडौं । आफ्नै कर्मचारीले किन्न नमानेको र फर्जी खरिदकर्ता देखिएको घोराही सिमेन्टको आईपीओ फेरि पनि निष्कासन खुला गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिएका लगानीकर्ताको रकम बन्धक नबनाउने उद्देश्यसहित निष्कासन खुला गर्न बाटो खोलिदिएको हो । तर, घोराही सिमेन्टको आईपीओ विवादका सम्बन्धमा छानबिनलाई थाती राखेर बोर्डले पुनः आईपीओ खोलेपछि यसलाई थप शंकाको दृष्टिकोणले हेर्न थालिएको छ ।
नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले आईपीओ फिर्ता लिन चाहेमा निष्कासन तथा बिक्री प्रबन्धकले सूचना निकालेको तीन दिनभित्र आवेदन दिन सकिने प्रावधानसहित सेयर जारी गर्ने समय दिएको छ । बोर्डले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा कम्पनीको आईपीओ फिर्ता लिन चाहेमा निष्कासन तथा बिक्री प्रबन्धकले सूचना निकालेको तीन दिनभित्र आवेदन दिन सकिने प्रावधानसहित सेयर जारी गर्ने समय दिएको हो ।
आईपीओ बिक्री अवधि ४ असारभित्रै मागभन्दा तीनगुणा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले बिक्री अवधि थप गरी १४ असारसम्म कायम गरेपछि यसलाई छानबिनको घेरामा ल्याइएको थियो । घोराही सिमेन्टको आईपीओ अन्योलमा हुँदा सर्वसाधारण लगानीकर्ताको ९ अर्ब ८३ करोड ८५ लाख ५५ हजार ९ सय ५० रुपैयाँ रोकिएको थियोे । सर्वसाधारणको रकम फसेपछि दबाबमा परेको धितोपत्र बोर्डले हतारमा ७ दिन आईपीओ खोल्न पाउने र तीन दिनमा रकम फिर्ता लिन पाउने निर्णय बुधबार गरेको हो ।
तर, घोराही सिमेन्टको आईपीओ विवादका विषयमा बनेको छानबिन जारी हुँदै गर्दा पुनः आईपीओ खोलेपछि यो कदम थप शंकास्पद बनेको छ । घोरोही सिमेन्ट इन्डस्ट्रिजले भारतिय कम्पनि आशिष ट्रान्सपोर्ट कर्र्पोरेसन र अमित ट्रेडिङसँग नक्कली बिलमार्फत् करोडौैैैैैैं रुपैयाँको कारोबार गर्ने गरेको पनि गत साता नै सार्वजनिक भइसकेका छन् । भने, घोराही सिमेन्ट इन्डस्ट्रिजका सञ्चालक, फर्जी आवेदक र फर्जी आवेदनलाई अनुमोदन गर्ने एनआईसी बैंक एवं निष्कासन तथा बिक्री प्रबन्धकमाथि थप छानबिन हुने भएको छ । एनआईसी एसिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन कसरी स्वीकृत ग¥यो ? भन्ने सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अघि बढाउने भएको हो । त्यस्तै, मागभन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन परेको अवस्थामा पनि समयावधि थप गर्न सूचना प्रकाशित गरेको सम्बन्धमा निष्कासन तथा बिक्री प्रबन्धक हिमाल क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङमाथि पनि थप छानबिन हुने भएको छ ।
यतिमात्र होइन, घोराही सिमेन्टका लगानीकर्ताद्वय विशाल समूह र त्रिवेणी समूहको एनआईसी एसिया बैंकमा करिब ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । एनआईसी एसिया बैंकको मुख्य सेयरधनीमा विशाल र त्रिवेणी (संघाई) समूहका सदस्यहरू छन् । जसको घोराही सिमेन्टमा अधिकांश सेयर स्वामित्व छ ।
एनआईसी एसिया बैंकमा व्यावसायिक घराना विशाल समूहका सदस्यको कम्तीमा २६ प्रतिशत सेयर स्वामित्व छ । त्यसैगरी, सांघाई समूहका सदस्यको १३ प्रतिशत सेयर लगानी छ । उता, घोराही सिमेन्टमा विशाल समूहसम्बद्ध लगानीकर्ताको कुल २१ दशमलव ३४ प्रतिशत सेयर लगानी रहेको छ । विशाल समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल घोराही सिमेन्ट कम्पनीको सञ्चालक समितिमै छन् । भने, घोराही सिमेन्ट इन्डस्ट्रिज र एनआईसी एसिया बैंकका सञ्चालक एउटै समूह, एकै परिवारका सदस्य र एकै व्यक्ति भएकाले दिग्भ्रमित पार्ने षड्यन्त्रमा संलग्न भएका पनि पाइएको छ । यसले, पनि धितोपत्र बोर्डको निणर्यप्रति प्रश्न उठेको छ ।