चन्द्राैटा पुस ११ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा आठौँ चन्द्रौटा महोत्सव सञ्चालनकाे लागि तयारी पुरा भएको छ । पुस १३ गते आठौँ चन्द्रौटा महोत्सव पुस २४ गते सम्म चल्ने बताइएको छ । चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजना हुने महोत्सवको आयोजनाको विषयमा बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
महोत्सव स्थलमा स्टल निर्माण, आकर्षक गेट, बालउद्यानको काम अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष एवम् चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताउनु भयो । धार्मिक स्थलको प्रचार प्रसारको लागि शिवगडी मन्दिर आकृतिको मुल गेट र मायादेवी मन्दिर आकृतिको सचिवालय निर्माण गरिएको छ ।महोत्सवमा १८० स्टल हुने छ । साथै एक लाख दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोवार हुने लक्ष्य लिएको संघका राज कुमार क्षेत्रीले बताउनु भयो । सम्मेलनमा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अलीले स्थानीय कलकारखाना, घरेलु तथा साना उद्योग, व्यवसाय सँगै स्थानीय पर्यटन विकासमा महोत्सवले भुमिका खेल्ने बताउनु भयो
विकासको पूर्वाधार आन्तरिक उत्पादन उद्योग र व्यापार भन्ने मूल नाराका साथ शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्ने मुख्य उद्देश्यले आयोजित महोत्सवको प्रचार प्रसार तीव्र पारिएको प्रेस संयोजक कृष्ण गैरेले बताउनुभयो ।