
कपिलवस्तु, वैशाख १४ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको मातहत इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
शनिबार दिउँसो ३:०० बजे प्रहरीले जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै आएका शिवा पटवा उर्फ आशिष कुमारलाई नियन्त्रणमा लिएको हो।
भारतको बलरामपुर जिल्ला, तुल्सीपुर थाना, सोनपुर ग्राम तहसिल तुल्सीपुर निवासी करिब २२ वर्षीय शिवा पटवा उर्फ आशिष कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली उक्त स्थानमा खटिएको थियो।
खोजतलास गर्दा आशिष कुमारको शरीर र भाडामा लिएको कोठाबाट नेपाली रुपैयाँ ४२ लाख ६३ हजार ९०० र भारतीय रुपैयाँ २६ हजार ५४४ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको कुल रकम नेपाली रुपैयाँमा ४२ लाख ९० हजार ४४४ बराबर रहेको छ। साथै, प्रहरी टोलीले उक्त कोठाबाट नोट गन्ने मेसिन समेत बरामद गरेको छ।
पक्राउ परेका आशिष कुमारलाई हाल थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।