साल्ट ट्रेडिङ्ले मनायो ६१ औँ वार्षिकत्सव
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ६१ औँ वार्षिकत्सव मनाएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमकाबिच उक्त वार्षिकोत्सव मनाइएको हो । वार्षिकत्सव समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली जनतालाई सँधै सहज र सुपथ मुल्यमा दैनिक उपभोग्य वस्तु पुर्याउन कर्पोरेशनले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन् । यस्तै उनले नुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सहज र सुपथ मुल्यमा सर्वसाधारणलाई उपलब्ध गराउदै वित्तिय लगानीको भार खेपेर पनि ६ दशमलव ६ महिनाको संचिति कायम राख्न कर्पोरेशन सफल भएको समेत बताए ।
सांग्रिला मोटर्सको आकर्षक उपहार
सांग्रिला मोटर्सले नेपाली ग्राहकहरुलाई लक्षित गर्दै फेस्टिभ स्किम २०८० ल्याएको छ । भृकृटीमन्डपमा संचालन भएको नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुलाई २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त स्किम अन्तर्गत सिट्रोन सि–३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने कम्पनिको भनाई छ । यी अफरहरुको साथै ग्राहकले नाडा अटो शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्ने कम्पनिले जनाएको छ ।
सरकारले २० हजार टन चिनी आयात गर्दै
सरकारले चाडपर्वलाई लक्षित गर्दै २० हजार टन चिनी आयात गर्ने भएको छ । उक्त परिमाणको चिनी ल्याउन ५० प्रतिशत भन्सार छुट दिएको अर्थ मन्त्रालयले जनाएको छ । चिनी आयात गर्दा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा अब भने १५ प्रतिशत मात्रै भन्सार तोकिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । उक्त परिमाणको चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन र साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार टन आयात गर्ने छ ।
नेपालको आर्थिक विकासको पक्षमा अष्ट्रेलिया
नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले आफु सधैँ नेपालको आर्थिक विकासको पक्षमा रहेको बताएका छन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्ने क्रममा भोल्कले यस्तो बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, लैंगिक समानता, पछाडी परेका वर्गहरुको उत्थान, पर्यटन क्षेत्रको विकास तथा समग्र नेपालको समग्र विकासका लागि सँधै अष्ट्रेलिया सकारात्मक भएको बताएका छन् । यसका लागि दुई देश बिचको सहयोग र सहकार्यलाई सुमधुर बनाउन आफु लागिपरेको राजदुत भोल्कको भनाई छ ।
होटल क्षेत्रमा भित्रियो अरबौँ लगानी
पछिल्लो समय नेपालको होटल तथा पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ । स्वदेशीसँगै विदेशी लगानी कर्ताहरुपनि विशेषगरी नेपालको होटल क्षेत्रमा लगानी गर्न अकर्षित भएका छन् । चालु आर्थिक वर्षको भदौ महिनामा मात्र झण्डै ४ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार भदौ एकदेखि २४ गतेसम्म मात्रै विभिन्न १० होटल संचालनका लागि ३ अर्ब ७८ करोड १८ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । यसबाट बजार अर्थतन्त्र चलायमान हुनुका साथै विभिन्न रोजगारका अवसरहरु प्राप्त हुने आकलन गरिएको छ ।