चुडामणिसहित तीन जनालाई ९ वर्ष कैद, घरजग्गा कारोबारमा पुँजीगत लाभककर नै अन्तिम हुने (अर्थ रफ्तार)

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको हो ।

राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।

नयाँ ब्रोकर लाईसेन्स : खुल्यो बाटो

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मंगलबार अर्थसमितिले धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाएका छन् ।

यसअघि अघिल्लो हप्ताको बिहीबार अर्थ समितिले स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको सम्पूर्ण प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

समितिको उक्त निर्देशनले नयाँ ब्रोकरको लाईसेन्स वितरणमा अन्यौलता छाएपछि पछिल्लो समय अर्थ समिति नै विवादमा तानिएको थियो ।

छलफलमा सबै सांसद र स्वयं धितोपत्र बोर्डका अध्यक्षले नै नयाँ लाईसेन्स वितरणको प्रक्रिया रोक्न नहुने बताएका थिए ।

उक्त कार्यक्रममा सहभागि सांसदहरूले अर्थ समितिले ब्रोकर लाईसेन्स प्रक्रिया रोकेर अन्यौलता सिर्जना गर्न नहुने बताएका छन् ।

घरजग्गा कारोबारमा पुँजीगत लाभककर नै अन्तिम हुने

आन्तरिक राजश्व विभागले घरजग्गाको कारोबारमा ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने बताइएको छ । प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम हुने विभागको भनाई छ ।

यसभन्दा पहिला अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत तीन आर्थिक वर्षको आय विवरण पेश गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्था गरेका थिए । तर, आन्तरिक राजश्व विभागले नेपाल जग्गा तथा आवास विकास महासङ्घलाई पत्र लेख्दै ५ प्रतिशत वा ७.५ प्रतिशत लाभकर नै अन्तिम हुने जनाएको छ ।

स्वदेशी गोलभेँडाको भाउ ४ रुपैयाँले वृद्धी

थोक बजारमा स्वदेशी गोलभेँडाको मूल्य ४ रुपैयाँले बढेको छ । स्वदेशी गोलभेँडाको मूल्य र बजार नपाएको भन्दै किसानले कालिमाटीमा गोलभेँडा फालेर विरोध जनाएपछि सरकारले ४ रुपैयाँले स्वदेशी गोलभेँडाको मूल्य बढाएको हो ।

त्यसपछि आइतबार थोक बजारमा सानो गोलभेँडा (टनेल)को मूल्य किलोमा ३ रुपैयाँ ८० पैसाले बढेको छ । यससँगै, कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो ११ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ ।

यसअघि, किसानले प्रतिकिलो २ रुपैयाँमा पनि गोलभेँडा नबिकेको भन्दै विरोध जनाएका थिए ।

हाल कालीमाटीमा तीन प्रकारका गोलभेँडा कारोबार हुँदै आएको छ । यसमध्ये सबैभन्दा सस्तो मूल्यमा सानो गोलभेँडा (टनेल) कारोबार हुँदै आएको छ ।

ठुलो गोलभेँडा भारतीय र नेपालीको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सरकारले अत्याधुनिक नयाँ टर्मिनल भवन बनाउँदै

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ अर्ब खर्चेर अत्याधुनिक नयाँ टर्मिनल भवन बनाउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै उक्त भवन बनाउने भएको हो ।

उक्त भवन बनाउने निर्णय प्राधिकरणको संचालक समितिबाट एक महिना अघि स्वीकृत भएको थियो ।

सुविधा सम्पन्न नयाँ टर्मिनल भवन निर्माणका लागि नयाँ टर्मिनल स्टिल स्ट्रक्चर तयार गरिने प्राधिकरणले जनाएको छ ।

उत्तरतर्फ ७५ हजार स्क्वायर मिटर क्षेत्रफलमा निर्माण गरिने नयाँ टर्मिनल भवनको डिजाइन फ्रेन्च कम्पनी ए.डी.पी.आइ.ले गरेको प्राधिकरणले जनाएको छ ।

टर्मिनल भवनमा कमर्सियल स्पेस, बिजनेस लाउन्ज, ड्युटी फ्री सप लगायतको सुविधा हुने र एकैपटक ६ वटा वाइडबडी जहाजले सेवा लिन सक्ने प्रधिकरणले जनाएको छ ।

पर्यटन मजदुरको पारिश्रमिक वृद्धी

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पर्यटन मजदुरहरुको पारिश्रमिक वृद्धी भएको जनाएको छ । पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरको दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पुगेको टानले जनाएको छ ।

उक्त बढेको पारिश्रमिक साउन एक गते देखि लागु हुने निर्णय भएको टानले उल्लेख गरेको छ ।

विगतमा पदयात्रा क्षेत्र अनुसार फरक फरक पारिश्रमिक रहेकोमा अब समान दरमा रुपान्तरण गरिएको टानले बताएको छ ।

त्यस्तै, सहायक गाइडको नयाँ पारिश्रमिक पनि प्रतिदिन २ हजार ८ सय रुपैयाँ कायम भएको छ । भने सहयोगी श्रमिक÷मजदुर (पोर्टर)को पारिश्रमिक २ हजार ४ सय रुपैयाँ पुगेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top