चेतरादेईमा स्थानिय युवाहरुद्वारा सरसफाई अभियान सुरु।


बडा दशैं २०८१ को आगमनसँगै बुद्धभूमि नगरपालिका वडा नं. १० चेतरादेईका स्थानीय युवाहरुले गाउँको सरसफाई अभियान सुरु गरेका छन्। असोज २० गते बिहानको चियागफमा जुटेका युवाहरुले दशैंको अवसरमा गाउँलाई सफा र सुग्घर बनाउनुपर्ने निर्णय गर्दै सरसफाई अभियान थालेका हुन्।
बिहान युवाहरुले चेतरादेई र मोतीनगर गाउँमा घरदैलो गर्दै आफ्ना घर अगाडिका फोहर व्यवस्थापन गर्न, बाटो अतिक्रमण गरी राखिएका सामग्री हटाउन, र गाउँमा सरसफाईको महत्वबारे जानकारी गराएका थिए।
आज असोज २१ गते बिहान ७ बजे नै युवाहरु कोदालो, हाँसिया, बन्चरो, बेल्चा लिएर गाउँभित्रका नालीहरु सफा गर्न, पानी जम्ने स्थान हटाउन, र बाटोमा भएका टहरा र टंकीजस्ता अवरोधहरु हटाउन जुटेका छन्। यस अभियानमा वडा सदस्य मेघनाथ केवटको पनि सक्रिय सहभागिता रहेको थियो।
दशैंको अवसरमा कामको सिलसिलामा बाहिर रहेका मानिसहरु, शिक्षक, र अन्य कर्मचारीहरु घर फर्केपछि आफ्नो गाउँ आफैंले सफा गर्नुपर्छ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो। राम सेवक यादव, तौलेश्वर यादव, शिवलाल यादव, विक्रम खरबिन्द, परशुराम केवट, राधेश्याम केवट, राघवेन्द्र खरबिन्द लगायतका स्थानीय युवाहरुको नेतृत्वमा अभियान अघि बढिरहेको छ।
अभियानका एक सक्रिय युवा राधेश्याम केवटले अब उपरान्त गाउँमा सडक छेउछाउ पानी जम्ने, फोहर फाल्ने, एक अर्काको पानी थुन्ने, र गोबर राख्ने जस्ता कार्यलाई निरुत्साहित गर्न सामाजिक रुपमा दण्डनीय बनाउने योजना रहेको जनाएका छन्।
गाउँमा यस किसिमका अभियानले दशैंको बेला वातावरण सफा र स्वस्थ राख्न ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top