पोखरा । पोखरा, २९ भण्डारढिकस्थित जनप्रकाश बहुमुखी क्याम्पसमा उद्यमशीलता विकास तालिम शुक्रबार सम्पन्न भएको छ । जनप्रकाश नेहेप इकाइको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीको अध्यक्षतामा सञ्चालित कार्यक्रम क्याम्पस नेहेप इकाइ संयोजक युवराज लामिछानले सञ्चालन गरेका थिए ।
विद्यार्थीहरूलाई स्वरोजगारसम्बन्धी तालिम दिई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्यनरत १ सय २० जना विद्यार्थी सहभागी थिए । विभिन्न चरणमा सञ्चालन भइरहेको तालिममा स्टेसन द फुड क्लब एन्ड ससेज पार्क, गैह्रापाटनका सञ्चालक आयुष श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
श्रेष्ठले तालिमबाट सिकेका कुरा व्यवहारमा उतारी प्रशिक्षार्थी पछि ठूला व्यवसायी भएको हेर्न पाउने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । साथै अध्ययनको क्रममा विद्यार्थीलाई यस्तो प्रकारको तालिम उपलब्ध गराएकोमा जनप्रकाश बहुमुखी क्याम्पसको मुक्तकण्ठले प्रशंसा गरे ।
क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन गर्ने साथै जुनसुकै कामलाई पनि सम्मान गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरेका थिए ।