जब भारतमा प्रचण्डलाई राज्यमन्त्रीले स्वागत गरिन… (न्युज रफ्तार)

जब भारतमा प्रचण्डलाई राज्यमन्त्रीले स्वागत गरिन… (न्युज रफ्तार)

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भारतले विमानस्थलमा स्वागत गर्ने क्रममा राज्यमन्त्रीलाई पठाएको छ । नेपालमा यसरी भारतीय मन्त्री तथा प्रधानमन्त्री नै आउने कार्यक्रममा मन्त्री वा त्योभन्दा माथिल्लो तहका पदाधिकारी पुग्ने गरे पनि भारतले प्रचण्डलाई स्वागत गर्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधि मण्डल भारत प्रस्थान गरेको थियो । विमानस्थलमा स्वागत गर्ने विषयले समेत सम्बन्धित मुलुकले कसरी लिएको छ भन्ने खुल्ने भएकाले पनि प्रचण्डलाई राज्यमन्त्रीले स्वागत गरेपछि विभिन्न टिप्पणी हुन थालेको छ । यसअघि पनि यस्तो परम्परा देखिने गरेको पाइन्छ ।

नागरिकता विधेयक प्रमाणीकरण

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् ।

नागरिकता विधयेकको लाभ कसलाई ?

नागरिकता विधेयक पारित भएसँगै अब नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने लगायतका प्रावधान विधेयक रहेका छन् । विधेयकका मुख्य विषय ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भन्ने उल्लेख छ । कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा बढी नागरिकताबाट वञ्चित भएको बताइन्छ ।

नागरिकता विधेयक : दलीय चस्माले के देख्यो ?

सत्तारुढ दल नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण काननसम्मत रहेको बताएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संसदीय प्रक्रिया पूरा भएर विधेयक राष्ट्रपति कार्यालयमा पुगेको र राष्ट्रपतिले संविधान र कानुनविदहरूसँगको परामर्शमा विधेयक प्रमाणीकरण गरेको बताएका छन् । यता जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता विधेयक प्रमाणीकरण भएपछि खुशीयाली मनाउन अपिल गरेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लङघन गरेको विषय राष्ट्रपति रामचन्द्र पौडेलले सच्याएको भन्दै जसपाले दिपावली मनाउन आग्रह गरेको छ । जसपाका प्रमुख सचेतक प्रदीप यादवले अनागरिकहरूले नागरिकता पाउने वैधानिक बाटो खुल्नु खुसीको कुरा रहेको जिकिर गरेका छन् । यस्तै, जनमत पार्टीले पनि यसलाई स्वागतयोग्य कदम भएको बताएको छ ।

सुनैसुनको फोटोपछि ओली भन्छन्- ‘यत्रो सुन त म बोक्नै सक्दिन होला’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् । आफूमा सुनप्रति कहिल्यै मोह नभएको ओलीको भनाई थियो । ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी बनाउँदा करिब ११ केजी सुन हराएको विषय संसदमै उठेपछि उनको फोटो सुनै सुनले ढाकिएको बनाएर सामाजिक सञ्जालमा ट्रोल भएको थियो । आफ्नो फोटो ट्रोल भएको थाहा पाएका ओलीले आफूमा सुन मोह कहिल्यै नभएको भन्दै समाज छाडा र विकृत बन्दै गएको टिप्पणी गरेका छन् । ओलीले भनेका छन् , ’सानो हुँदा आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन । अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’ सामाजिक सञ्जालमा ट्रोल गरिएको विषयमाथि आक्रोश पोखेका ओलीले शिक्षित भनिनेहरु नै छाडा र विकृत भएको आरोप लगाउदै आएका छन् ।

झलनाथमाथि दुर्व्यवहार, ९ जना पक्राउ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि दुर्व्यवहार गरिएको भन्दै कारबाही माग गरिएको छ । नेकपा एसले खनालमाथि दुर्व्यवहार भएको भन्दै कारबाही माग गरेको हो । उपमहासचिव डा.गंगालाल तुलधारले बक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री खनाललाई दुव्र्यवहार गर्नेमाथि कठोर कार्बाहीको माग गरेका छन् । खनाल सहभागी एक कार्यक्रममा राजावादी हुँ भन्नेहरुले भाँडभैलो गरेका थिए । यस्तै, खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरे । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका थिए । पक्राउ पर्नेमा सन्तोष राजाबादीसहित ९ जना छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *