कपिलवस्तु — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)का नेताहरू सहित दर्जनौँले जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष नरसिंह चौधरीसहितका नेताहरू सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनी नेपाल सद्भावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा संविधानसभा सदस्यसमेत हुन् । त्यस्तै जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी सांस्कृति नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरीसहित दर्जनौँ नेता कार्यकर्ता आफूहरूको पार्टीमा आएको जनमत पार्टीका महामन्त्री चन्दनकुमार सिंहले जानकारी दिए ।
त्यस्तै सोमबार नै लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गुप्ता सहितका नेताहरू पनि जनमत पार्टी प्रवेश गरेका छन् । जनमत पार्टीले अगुवा नेता कार्यकर्ता भेला तथा निर्वाचनकेन्द्रित कार्यक्रमलाई तीव्रता दिएको महामन्त्री सिंहले बताए ।
उक्त विषयलाई डा. सिके राउत सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत पनि सार्वजनिक गरिएको छ ।