
काठमाडौं । विभिन्न प्रयास गरिए पनि संसदको अवरोध अझैं खुल्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सहित सभामुख र राष्ट्रपतिले संसद अवरोध खुलाउन गरेको पहल निरर्थक बन्न पुगेको छ ।
सत्ताले प्रतिपक्ष र प्रतिपक्षले सत्तालाई आरोप लगाउदै संसद अवरोध कायमै राखेपछि यसबारे विभिन्न टिप्पणी भइरहेको छ ।
संसद अवरोध गरिरहेको एमालेको माग र सत्ता पक्षले मध्यमार्गी बाटो खोज्ने भनेपछि बन्न नसकेको सहमतिमाथि सभामुख र राष्ट्रियसभाका अध्यक्षको भूमिकामाथि नै प्रश्न उठ्न थालेको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको एमालेले जनताको आवाज बोलेको दाबी गर्दै संसद अवरोध गरिरहेको छ ।
जनता बाढी पहिरो, डुबान लगायत स्वास्थ्य आपतकाल ब्यहोरिरहेको बेला एमालेको हठलाई मध्यमार्गी बाटो खोजेर समाधानको तयारी गरिएको छ । तर, एमालेले भने अझैंपनि सत्ता पक्षकै कारण संसद वैठक अवरुद्ध हुन पुगेको दाबी गरिरहेको छ ।
बर्ताैलाले सुन प्रकरणमा प्रश्न उठाइरहेकाबेला नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले भने केपी ओली नै सुन तस्करी प्रकरणमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।
एमालेले ओलीको संलग्नता रहेकै कारण संसद अवरोध गरिरहेको दाबी गरेका चौधरीले ओली छिट्टै पक्राउ पर्ने दाबी समेत गरेका छन् ।
संसद अवरोध खुलाउने प्रयास भइरहेको दाबी गरेका नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका छन् । तर उनले सरकारको नेतृत्व गरिरहेका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि अनुसन्धान हुनुपर्ने जिकिर गरेका छन् ।
प्रतिनिधिसभा बैठकमात्रै नभएर राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएपछि वामदेव गौतमले सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रभावकारी भूमिका खेल्न नसकेको कारण संसद बैठक चल्न नसकेको दाबी गरेका छन् ।
राष्ट्रियसभामा समेत विरोध र आलोचनाको श्रृङ्खला चलिरहेका बेला संसद बैठक कहिले सुचारु होला भन्न् आम चासो बढ्न थालेको छ ।
एमालेको निरन्तरताको अवरोध र दलीय सहमति जुट्न नसक्दा संसद बन्धक बन्न पुगेको छ । तर, यसको समाधान खोज्न चालिएका कदममाथि समेत प्रश्न उठ्न थालेपछि एमालेको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।