जोहानेसवर्ग आगलागी १२ बालबालिकासहित ७६ जना जले

जोहानेसवर्ग आगलागी १२ बालबालिकासहित ७६ जना जले

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७५ जना भन्दा बढीको जलेर ज्यान गएको छभने अन्य ८८ जना घाइते भएका छन् । शुक्रबार दुई जना घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको हो ।

स्वास्थ्यमन्त्री जो पहालाका अनुसार ६२ जनाको शरीर पहिचान गर्न नसकिने गरी जलेकाले डिएनए परीक्षणका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिइएको पत्रकारहरूलाई बताउनुभएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार २० जना विदेशी नागरिकको पनि मृत्यु भएको छ । कामको खोजीमा दक्षिणअफ्रिका आएका मलावी र ताञ्जानियाका आप्रवासीको मृत्यु भएको जनाइएको छ । प्रिटोरियास्थित ताञ्जानियाको उच्चायुक्तको कार्यालयले आफ्नो देशका पाँच जनाको जलेर ज्यान गएको पुष्टि गरेको छ ।

केही वर्षअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । सरकारी स्वामित्वको उक्त भवनमा समस्या भएको सन् २०१९ देखि आफूहरूलाई जानकारी रहेको सरकारी अधिकारीहरूले स्वीकार गरेका छन् । घरबारविहीन व्यक्ति कुनै औपचारिक भाडा सम्झौता बिना नै उक्त भवनमा बसेका थिए ।

दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ । यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन ।

बिहीबार घटनास्थलको भ्रमण गर्नुभएका दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उक्त दुर्घटना आंशिक रूपमा भवन कब्जा गर्ने र घरबारविहीनलाई त्यहाँ बस्न अनुमति दिने आपराधिक तत्वका कारण भएको बताउनुभएको छ । उहाँले महानगरको आवास समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एवं स्थानीय सरकारलाई संवदेनशील हुन आग्रह गर्नुभएको छ ।

जोहानेसबर्गको आवास सङ्कट समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै जोहानेसबर्गका पूर्वप्रमुख हर्मन मशाबाले राष्ट्रपति रामाफोसाको आलोचना गर्नुभएको छ । राष्ट्रपतिले यो घटनालाई दुःखदायी भनेरमात्र नपुग्ने भन्दै २५ वर्षदेखि शहरले भोगेको समस्यालाई रातारात सृजना भएझै प्रस्तुत हुनु आपत्तिजनक भएको उहाँले बताउनुभएको छ ।

दक्षिणअफ्रिकामा घरवारबिहीनहरू विविध कारणले बिग्रेभत्केका तथा राज्यले परित्याग गरेका भवनमा बलपूर्वक बस्ने गरेका छन् । त्यस्ता घर ‘ कब्जा गरिएका भवन’का रुपमा चिनिन्छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *