काठमाडौं । नेपाल हाइड्रो डेभलपरका तत्कालित अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानूनविपरित पदमा भएको समयमा गरेको कारोबारलाई बचाउन धितोपत्र बोर्डले अध्ययन प्रतिवेदन नै गोलमोटल बनाएको छ ।
प्रधानले आफ्नो नाममा भएको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर पटक पटक गरी २६ करोड ३३ लाख ५६ हजार ५ सय ५७ रुपैयाँमा बिक्री गरेको प्रमाण ०७८ फागुन २५ बाहिरिएको थियो ।
बोर्ड अध्यक्ष हमालको निर्देशनअनुसार ४५ दिनमा तयार हुनुपर्नेमा करिब २ महिना लगाएर बनाएको प्रतिवेदनमा प्रधानले झुक्याएर २६ करोड ३३ लाख ५६ हजार ५५७ रुपैयाँको सेयर बिक्री गर्दा धितोपत्र बोर्ड, धितोपत्र बजार र अन्य सरोकारवाला निकायलाई कति क्षति भयो ? त्यो क्षती कोबाट कसरी भराउने भन्ने विषय कहीँ कतै उल्लेख गरिएको छैन । तर, बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने आफ्नो नामको सेयर परिवारको नाममा नामसारी गरेर बिक्री गर्दा बजारलाई म्यानुपुलेसन गरेको, लगानीकर्तालाई भन्दा पनि नियामक निकायलाई छल्ने काम गरेको दाबी गर्छन् ।
बलराका जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रको विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्रोत खुलेको आम्दानीको तुलनामा खर्चमा देखिएको बढी रकमलाई आयोगले स्रोत नखुलेको सम्पत्तिका रूपमा बिगो कायम गरी मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।
सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७ सय ६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।
मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने विषयमा परेको उजुरीमाथि छानबिन गर्दा एक करोड ३० लाख ४५ हजार ७ सय ६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगको दाबी छ ।
पाँच वर्षको ५ अर्बको लसुन आयात
साढे ५ वर्षमा नेपालमा साढे ५ अर्बको लसुन मात्रै आयात भएको छ । आर्थिक वर्ष २०७५\७६ देखि चालू आवको जेठसम्ममा चीन र भारतबाट ५ अर्ब ५२ करोड ७६ लाख रुपैयाँबराबरको लसुन आयात भएको हो ।
पाँच वर्षको अवधिमा ५० हजार २ सय १२ मेट्रिक टन लसुन नेपाल भित्रिएको छ ।
नेपालले आर्थिक वर्ष २०७५\७६ मा ८३ करोड ३० लाख, ०७६\७७ मा ७५ करोड ४२ लाख, २०७७\७८ मा १ अर्ब ५० करोड १९ लाख, ०७८\७९ मा १ अर्ब २४ करोड ८ लाख, र चालू आर्थिक वर्षको ११ महिनामा १ अर्ब १९ करोड ७६ लाख रुपैयाँबराबरको लसुन आयात भएको छ । दुवै देशबाट सुकेको लसुन र धुलो (पेस्ट) नेपाल भित्रिने गरेको छ ।
कर्जाको ब्याजदर नघट्ने
असारको लागि वाणिज्य बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर नघट्ने देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म औसत आधार दर मात्रै ०.१० प्रतिशत बिन्दुले घटेको छ ।
फागुन, चैत र वैशाखको १९ वटा वाणिज्य बैंकको औसत आधारदर १०.४६ प्रतिशत रहेकोमा चैत, वैशाख र जेठको औसत आधारदर १०.३६ प्रतिशत छ ।
राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि हरेक तीन÷तीन महिना मात्रै कर्जामा लाग्ने आधारदर परिर्वतन हुने गर्थ्यो ।
अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधारदरको औसत लिएर तय गरिन्छ ।
बैंकहरूको मासिक आधारदरमा समेत सिमान्तदरमा कमी आइरहेकोले आगामी महिना कर्जाको ब्याजदर थप घट्न सक्ने देखिन्छ ।
बीमा कम्पनीहरुको व्यवसाय नवीकरण शुल्कले धानिदै
जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बीमाशुल्क आर्जन १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल बीमा प्राधिकरणद्वारा जारी वित्तीय तथ्यांकअनुसार १५ कम्पनीले १ करोड ४० लाख ६९ वटा बीमालेखबाट उक्त रकम संकलन गरेका हुन् ।
जसमा कम्पनीहरुको प्रथम बीमाशुल्क २५ अर्ब ९५ करोड रुपैयाँ छ । नवीकरण शुल्कबाट ९८ अर्ब ५९ करोड रुपैयाँ उठेको छ ।
जेठमा मात्र कम्पनीहरुले ८ लाख ४५ हजार वटा बीमालेखबाट १० अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
प्रथम बीमा शुल्क २ अर्ब ६२ करोड रुपैयाँ हुदाँ नवीकरण शुल्क ७ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको प्राधिकरणको तथ्यांकमा छ ।
गत वैशाखमा एक खर्ब १४ अर्ब रुपैयाँको बीमा शुल्क संकलन भएको थियो ।
पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसाय नवीकरण शुल्कले धानिदै आएको छ ।
सेयर बजारमा उछाल
सेयर बजार मापन गर्ने परिसूचक तीन दिनमा १३०.८४ अंकले बढेको छ ।
साताको पहिलो दिनदेखि नै बढेको बजार मंगलबार पनि कायमै रहेको छ ।
मंगलबार बजार मापन गर्ने सूचक ५६.९४ अंकले बढेर परिसूचक २१८६.३६ बिन्दुमा रोकिएको छ ।
२७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार कित्ता सेयर ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बजारमा उछाल आउँदा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ ।
बैंकिङ समूहको ४८.२५, विकास बैंक ५३.७०, वित्त ८३, होटल ६०.३९, जलविद्युत ३९.७४, जीवन बीमा ९४.६८, माइक्रोफाइनान्स ३५३.७०, अन्य समूहको उपसूचक ३१.३० अंकले बढ्दा निर्जीबन बीमा समूहको उपसूचक १४.९७ अंकले घटेको छ ।
कारोबारमा २५ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।