ज्ञानेन्द्रको सक्रियतामाथि दलीय चुनौतिको अन्तर्य

ज्ञानेन्द्रको सक्रियतामाथि दलीय चुनौतिको अन्तर्य

काठमाडौं । देशको अवस्था झन झन खस्किएको भन्दै आम चासो व्यक्त भइरहेकाबेला पूर्वराजा ज्ञानेन्द्र शाहले प्रश्न गर्दै ‘नयाँ नेपाल यहि हो ?

अब व्यवस्थाबारे जनताले सोच्नैपर्नेछ’ भनेपछि राजनीतिक दल तथा जनताहरुमा नयाँ शिराबाट बहस सुरु भएको छ ।

शाहले देशको शासन व्यवस्थाले जनताको मुक्ति दिन नसकेको भन्दै गुनासो पोखिरहेकाबेला उनलाई चुनाव लडेर आउन चुनौति दिएका दलहरुले राजतन्त्र फर्किने आशा नराख्न चेतावनी दिन थालेका छन् ।

राजाको प्रत्यक्ष शासनले गरेको दमन र त्यसको पीडाबाट मुक्ति पाउन भन्दै जनता आन्दोलित बन्न पुगे ।

सशस्त्र युद्धदेखि विभिन्न आन्दोलनको बलमा गएको राजसंस्था आउनेमा केहि मानिसहरु अझैं विश्वास गरिरहेका छन् ।

राजा फर्काउने भन्दै खुलेका दलहरुले समेत जनमतमा सुधार गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाह हौसिएका छन् । तर, यति हुँदैमा राजा फर्किने सम्भावना छ त ? प्रश्न उठेको छ ।

दलहरुले निकास दिन नसक्दा जनतामा निराशा छाएको पक्कै छ । तर, राजा नै फर्काउने गरि तत्काल आन्दोलन वा अरु कुनै उपाय बाहिर आउने सम्भावना भने कमै देखिन्छ । एमाले नेता तथा सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताउँछन् । दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने दाबी गरेका उनले गणतन्त्रात्मक व्यवस्था फेल नभएकाले राजतन्त्र नफर्किने बताए ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रुपमा हिँड्दा आफूहरुलाई कुनै चिन्ता नभएको बताएका छन् । उनले नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही कहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नसक्दा र दलहरुमा कमजोरी रहेसम्म केही तत्वहरु सल्बलाइरहने टिप्पणी गरे । उनले पूर्वराजाको सक्रियतालाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

पूर्वराजाले सक्रियता बढाए पनि दलका नेता तथा सांसदहरुले चिन्ता गर्नुपर्ने अवस्था आइनसकेको दाबी गरेका छन् ।

दलीय असहमति भएपनि त्यसलाई मिलेर समाधान खोज्ने बताउने उनीहरुले आफ्नो व्यवहारका कारण जनतामा नैराश्यता छाएको छ भन्ने तथ्यलाई भने कहिले हेक्का राख्लान् ?

यो प्रश्न जति पेचिलो बन्दै गएको छ, राजतन्त्र ब्यूतिने विषय पनि उत्तिकै गम्भिर देखिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *