
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेयता फरार रहेका नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको निवासमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोली पुगेको छ ।
मंगलबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीको सातदोबाटोस्थित निवासमा प्रहरीको टोली पुगेर खानतलासी गरेको हो ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझी प्रहरीको सम्पर्कमा आउछु भने पनि नआएपछि प्रहरी एक्सनमा उत्रिएको छ । तैपनि रायमाझी फरार छ । शरणार्थी प्रकरणमा रायमाझीका छोरी सन्दीप भने पक्राउ परिसकेका छन् ।
अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीसहित यस प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।
यस्तै, टोपबहादुरका छोरा सन्दीपका नाममा गिरोहले काटेको डेढ करोडको चेक प्रहरीले बरामद गरिसकेको छ । उक्त प्रकरणमा गएको १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ परिसकेका छन् भने यस प्रकरणमा मुछिएका बादलका छोरा प्रतिक थापा पनि प्रहरीको निगरानीमा छन् । तर, पक्राउ परिसकेका छैनन् ।