
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केहीँ दिनदेखि भीआईपी व्यक्तित्वहरु मुछिएका अपराधिक गतिविधिहरु सार्वजनिक भइरहेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने आरोपीहरुको नाम सार्वजनिक भइरहँदा त्यसमा केहीँ जिम्मेवार नेता र उनीहरुको परिवार तानिएका छन् ।
तत्कालीन समयमा गृह मन्त्रालयको जिम्मेवारीमा रहेका हाल नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र एमाले सचिव टोपबहादुर रायमाझीसहित परिवारका केही सदस्य र आसपासका व्यक्तिलाई पक्रेर अनुसन्धान गर्न प्रहरीले तदारुकता देखाएको छ । यसको सत्यतथ्य के हो, यदि राजनीतिक ढाकछोप नभए केही दिनभित्र बाहिर आउला भन्ने आशा गरौँ ।
यस विषयमा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले पार्टीले प्रहरीलाई अनुसन्धानमा समर्थन र सहयोग रहने बताउँछन् । तर, प्रहरीको अनुसन्धानमा हाजिर हुन्छ भन्दा पक्राउ पुर्जी जारी गर्नु उचित नभएको उनको तर्क छ ।
उनी भन्छन्, ‘राज्यको त्यो जिम्मेवार तहमा बसेको मान्छे फरार अभियुक्त होइन । पक्राउ पुर्जी जारी गर्नुपर्ने होइन । यस्तो रहेछ, हाजिर हुनुस् भन्दा हुन्छ । तर, अहिलेको यो तरिकाविरुद्ध हाम्रो आपत्ति छ ।’
लक्ष्मी महतो कोइरीजसरी टोपबहादुर रायमाझी पनि फरार भए भन्ने प्रश्नमा तामाङले कोइरी र रायमाझीको सन्दर्भलाई एउटै आँखाले हेर्न नमिल्ने उनी बताउ छन् ।
उनी भन्छन्, ‘कोइरीको रिस अर्काेलाई फेर्न पाइन्छ र ? उहाँले हाजिर हुन्छु सघाउँछु भन्नुभएको छ । बाटैबाटो समात्नु पर्दैन होला । छानविनमा पछि निर्दोष देखिए के हुन्छ ?’