
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेको सचिव पदबाट निलम्बित टोपबहादुर रायमाझी फरार छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अदालतले पक्राउ जारी गरेयता रायमाझी गुमनाम छन् । उनलाई पक्राउ गर्नका लागि उनकै निवास सातदोबाटोमा प्रहरी टोली पुगे पनि उनी फेला परेनन् ।
चौतर्फी खोजी गर्दा पनि रायमाझी नभेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एउटा नयाँ जुक्ति लगाएको छ । त्यो जुक्ति हो– वैशाख २५ गते सभामुखलाई बिरामी भएकाले अनुपस्थित भएको पत्र । सोही पत्र कस्ले ल्यायो भन्ने पहिचान गर्न सीआईबीले संसद सचिवालयको सीसीटिभी फुटेज लिएर गएको छ ।
वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएको लेखिएका पत्र एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएको संसद सचिवालय स्रोतले जनाएको छ । सीआईबीले वैशाख २५ गतेको बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको सीसीटिभी फुटेज लिएको गएको छ ।
शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीप, पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा फरार रहेका रायमाझी अब कम्तिमा १४ दिन पक्राउ नपरे उनी सिधै अदालत उपस्थित हुन सक्नेछन् । कानुनअुनसार हिरासत बस्न छुट हुनेछ ।