पोखरा । उखरमाउलो गर्मीसँगै गण्डकी प्रदेशमा ठेउला रोगको प्रकोप देखिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका, वालिङ र पुतलीबजार नगरपालिकाका विद्यालयका विद्यार्थीमा ठेउला देखिएको हो । ठेउला देखिएका विद्यालय अहिले बन्द गरिएको छ । विद्यार्थीहरूबाट अन्यत्र नसरोस् भनेर ती विद्यालय बन्द गरिएको हो ।
कालीगण्डकी गापा ४ को स्कुल, वालिङ १२ को स्कुल र पुतलीबजार ३ को स्कुलका विद्यार्थीमा जेठको दोस्रो साताबाट ठेउला देखिएपछि अहिले पढाइ बन्द गरिएको सरुवा तथा संक्रमक रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले बताए । यसैगरी लेखनाथकै एक विद्यालयमा समेत केही विद्यार्थीहरूलाई ठेउला देखिएको छ । उक्त विद्यालय बन्दै नभए पनि विद्यार्थी निकै कम आउन थालेका छन् । सरुवा तथा संक्रामक अस्पतालमा ठेउलाको उपचारका लागि ४ जना आएकामा १ जनालाई भर्ना गरेर राखिएको छ ।
स्याङ्जामा ठेउला हुनेहरूको रगतको नमुना प्रादेशिक प्रयोगशाला र राष्ट्रिय प्रयोगशालमा समेत पठाइएको छ । ठेउला भएपछि देखिने जटिलता आउनु अघि नै सचेत गराउनका लागि गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र स्थानीय पालिकाहरू क्रियाशील भएका छन् । प्रदेशले डा. नारायण श्रेष्ठलाई फोकलपर्सन नै तोकेर काम थालेको छ । छोटो समयमा धेरै बिरामीहरू भेटिएकाले यसलाई अझ फैलन नदिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।
ठेउलाले साना बालबालिकालाई दुख दिन्छ । त्यसबाहेक वयस्क, वृद्धवृद्धालाई समेत यसले छाड्दैन ।
पोखरास्थित सरुवा तथा संक्रामक रोग अस्पतालका निर्देशक डा. विकास गौचनका अनुसार ठेउला बेरिसेला जोस्टर नामको भाइरसको संक्रमणले हुन्छ, जो गर्मी याममा बढी सक्रिय हुने गर्दछ । यसले ८ वर्षदेखि १५ वर्ष उमेर समूहमा बढी आक्रमण गर्छ ।
परिवारको एउटा सदस्यमा ठेउला देखिनसाथ अर्कामा त्यो सर्ने सम्भावना बढी हुन्छ । त्यसैले यसबाट बच्नका लागि विशेष सावधानी अपनाउनु पर्नेछ ।
कसरी थाहा पाउने ?
टाउको तथा जीउ दुख्ने, ज्वरो आउने, खानामा अरुचि हुने, घाँटी सुख्खा हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लक्षण देखापर्यो भने ठेउलाको संकेत हो । यस्तो लक्षण देखिए लगत्तै अनुहार तथा छाला खस्रो हुन्छ । क्रमश: त्यो पानी फोका जस्तै बन्छ ।
ठेउला आउनुअघि खुट्टा, जीउमा पीडा हुन्छ । हल्का ज्वरो आउँछ । खोकी लाग्छ, वान्ता पनि हुन्छ । यसरी रोगले संक्रमण गरेको २४ घन्टा नबित्दै पेट, ढाड, पिठ्यु, अनुहार जस्ता भागमा ससाना रातो दाना देखापर्छन् । यो क्रमश: टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा फैलन्छ ।
बच्चा, रोगी र गर्भवती जोगिनु पर्छ
ठेउलाको सम्भावित खतराबाट बालबालिका, गर्भवती, वृद्धवृद्धा बढी सतर्क रहनुपर्छ । किनभने यसको संक्रमण तिनै व्यक्तिहरूमा फैलन सक्छ, जसको रोगसँग लड्ने क्षमता कमजोर छ ।
ठेउलाको संक्रमण नवजात शिशुदेखि १२ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिन्छ । एक पटक यसको संक्रमण फैलिसकेको व्यक्तिमा भने दोस्रो पटक ठेउला आउने सम्भावना कम हुन्छ । यद्यपि ५० वर्ष उमेर पार गरेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा भने यसको संक्रमण दोहोरिन पनि सक्छ । सथै, दोस्रो पटकको संक्रमण अलि जटिल हुन्छ । ठेउलाको पहिचान हुनसाथ एन्टिभाइरल औषधी सेवन गर्नुपर्छ । यसरी समयमै औषधी सेवन गरेको अवस्थामा यो रोग २ हप्ताभित्रै निको हुन सक्छ ।
कुन अवस्थामा गम्भीर ?
यदि ठेउलाको रोगीलाई ब्याक्टेरियाको संक्रमण, मेनेन्जाइटिस, इन्सेफलाइटिस, निमोनिया, मिर्गौला तथा कलेजको समस्या देखिएमा चिकित्सककहाँ पुर्याउनुपर्छ ।
कसरी बच्ने ?
यसबाट बच्न बालबालिकामा विभिन्न खोप अनिवार्य छ । यसको खोप दुई डोजमा दिने गरिन्छ । यद्यपि नेपालमा भने यो खोपलाई सरकारको कार्यक्रममा राखेको पाइँदैन ।
बिरामीको हेरचाह यसरी गरौं
ठेउलाका बिरामीलाई अलग्गै कोठामा राखेर हेरचाह गर्नुपर्छ । उनीहरूलाई दिनहुँ कपडा फेरिदिनुपर्छ । चिल्लो खानेकुरा दिनु हुँदैन । खाना हल्का र चिसो भए उत्तम हुन्छ । उनीहरू कमजोर हुने भएकाले पोषिलो र सन्तुलित खानेकुरा दिनुपर्छ । दुध, दही, ताजा फलफूल उनीहरूका लागि उपयोगी हुन्छ ।
आयुर्वेदिक उपचार
ठेउलाको संक्रमण शरीरुमा मोटाबोलिज्ममा हुने गडबढीले निम्त्याउँछ । यसको उपचार आयुर्वेदिक विधिबाट पनि खोज्न सकिन्छ । नीमको ताजा पत्ता बिरामीको शरीरमा दल्ने, बेसार पानी पिउन दिने । रोगीलाई तुलसीको पात पकाएर चियाको रुपमा पिउन दिनुपर्छ ।
के खाने ?
–ताजा फलफूल, सागसब्जी सेवन गरौं ।
–किबी फल एकदमै लाभदायक हुन्छ । यसमा भिटामिन सि, मिनरल्स र अन्य पोषक तत्व पाइन्छ ।
–पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।
–सलाद, समुद्री परिकार सेवन गर्नु उपयोगी हुन्छ ।
के नखाने ?
–डेरीबाट बनेको खानेकुरा सेवन गर्नु हुँदैन । डेरीबाट बनेका परिकारले शरीरमा युरिक एसिडको मात्रा बढाएर शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर तुल्याउँछ ।
–मासुको प्रयोग पनि कम गरौं ।