डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा साइमा

डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा साइमा

काठमाडौं ।

दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद नियुक्त हुनुभएको छ।

स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डले उहाँलाई क्षेत्रीय निर्देशकमा नियुक्त गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

वाजेदले आगामी फेब्रुअरी १ तारिखदेखि पाँच वर्षे कार्यकाल शुरू गर्दैछिन्। उहाँ बंगलादेशबाट पहिलो र विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि दोस्रो महिला क्षेत्रीय निर्देशक हुुनुहुन्छ।

गत नोभेम्बर १ मा भारतको नयाँ दिल्लीस्थित दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय समितिले उहाँलाई अर्को क्षेत्रीय निर्देशकको रूपमा मनोनीत गरेको थियो।

आफ्नो प्राथमिकताहरूमा जोड दिँदै, नवनियुक्त क्षेत्रीय निर्देशक वाजेदले भन्नुभयो– ‘सर्वप्रथम लामो समयदेखि उपेक्षित क्षेत्र मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। अहिले जीवनको हरेक पक्षलाई असर गर्ने तर सुषुप्त रूपमा रहेको मानसिक स्वास्थ्यसम्बन्धी रोगलाई न्यूनीकरण गर्ने समय हो । म हाम्रो स्वास्थ्य सेवा प्रणालीमार्फत् शारीरिक र मानसिक सुस्वास्थ्य सुनिश्चित गर्न काम गर्नेछु।’

उहाँले गर्भवती महिलासहित सबै महिला तथा बालबालिकाहरूका लागि विशेष पहलको सुरुवात र कार्यान्वयन गर्न आफू सधैं अग्रसर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो– ‘यसका लागि आरोग्यताका साथै स्वास्थ्य परिक्षण, खोप तथा पोषण कार्यक्रमहरू, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन, र उत्थानशीलता जस्ता विषय समावेश रहनेछन् । यस क्षेत्रमा हामीले प्राप्त गर्ने कुनै पनि सफलताको प्रभाव र फाइदा हामीपछिका धेरै पुस्तासम्म रहनेछ।’

उहाँले विगत केही दशकहरूमा प्रविधिले जनस्वास्थ्यका विभिन्न क्षेत्रहरूमा नवीनताको अनगिन्ती सम्भावनाहरूलाई प्रस्फुटन गराएको उल्लेख गर्दै भन्नुभयो– ‘स्वास्थ्य क्षेत्रमा डिजिटल क्रान्तिको प्रभाव ठूलो रहेको छ। जसमा टेलीमेडिसिन र दूरदराजका बिरामीको निगरानीदेखि लिएर तथ्यांकमा आधारित निदान र व्यक्ति केन्द्रित उपचार योजनासम्म समावेश रहेको छ।’

पारदर्शी, दिगो र लगानीमा पर्याप्त प्रतिफल प्रदान गर्ने साझेदारी, सहकार्य र वित्तीय सहयोगमा वाजेदले जोड दिनुभएको छ।

नवनियुक्त क्षेत्रीय निर्देशक वाजेदले अमेरिकाको फ्लोरिडास्थित ब्यारी युनिभर्सिटीबाट स्नातक र चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ।

उहाँले सोही विश्वविद्यालयबाट संगठनात्मक नेतृत्वमा विद्यावारिधी पनि गर्दै हुनुहुन्छ। सन् २०१९ देखि उनी मानसिक स्वास्थ्य तथा अटिजमसम्बन्धी विश्व स्वास्थ्य संगठनका महानिर्देशकको सल्लाहकार र सन् २०१४ देखि मानसिक स्वास्थ्यमा विश्व स्वास्थ्य संगठनको विशेषज्ञ सल्लाहकार समूहको सदस्यको रूपमा कार्यरत हुनुहुन्थ्यो।

सन् २०१७ मा वाजेदलाई विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियामा अटिजमका लागि सद्भावना दूत नियुक्त गरिएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *