डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएका छन् ।

गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा शनिबार उनले भने, ‘अस्पतालमा भएका घटनामा संलग्नबारे जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति केही पनि रहँदैन ।’ त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘यो कुरामा सम्झौता कसैसँग हुँदैन,’ उनले थपे, ‘यो संवेदनशील विषय भएकाले सबैको ध्यानाकर्षण हुनुपर्छ ।’

‘हाम्रो एउटा मान्यता छ, बचायो भने भगवान्ले बचाउँछन् भन्छन्, डाक्टर भगवान् होइनन्,’ उनले भने, ‘मलाई लाग्दैन कि कुनै पनि डाक्टरले बिरामीलाई मारौं भनेर उपचार गर्छ । यस्तो हामीले सोच्नु पनि हुन्न ।’

पछिल्लो केही समय यता गण्डकी प्रदेशको पोखरा, लमजुङलगायत जिल्ला र देशका विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । ‘पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण क्षतिपूर्ति दिने प्रथा पनि हो,’ उनले भने, ‘हुलदंगा ग¥यो क्षतिपूर्ति बढी पाउने, नपाउनेले पनि पनि पाउने । त्यस्तो प्रवृत्तिले पनि चिकित्सक र अस्पतालमा अराजकता बढेको छ ।’ चिकित्सकमाथि हातपात र अस्पताल जोगाउन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने उनले बताए ।

समाजमा हरेक खालका मानिस रहेकाले केही उच्छृंखल व्यक्तिले दुव्र्यवहार गरे भन्दैमा चिकित्सकहरुले काम नै गर्न नसक्ने भयौं भनेर बस्न नहुने उनको भनाइ थियो । ‘डाक्टरहरुलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौं तर काम सबै रोकेर बस्नु भएन ।’

गोरखा अस्पतालको सेवा सुविधा बिस्तारका लागि गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । अस्पतालका व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठ र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले अस्पतालको समस्या र आवश्यकताबारे जानकारी गराएका थिए । जवाफमा मुख्यमन्त्री पाण्डेले प्राथमिकताका आधारमा तत्काल नगरी नहुने कामका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने आश्वासन दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *