
कपिलवस्तु – ईप्रका गणेशपुरका प्रहरी घुमुवा सहायक हवल्दार सुरेन्द्र, जो लगभग ६ वर्षदेखि एउटै ठाउँमा घुमुवा छन्, जो अहिले बहादुरगन्जतर्फ आक्रामक रूपमा धावा बोलिरहेका छन्। डीआईजी दानबहादुर कार्कीसँग आफ्नो प्रत्यक्ष सम्बन्ध रहेको दाबी गर्दै उनले सानातिना कारोबारी तस्करहरूलाई धाक दिँदै आएका छन्।
सुरेन्द्र दानबहादुर कार्की कपिलवस्तुमा एसपी हुँदा देखिनै उनका निकट रहँदै आएको केही कारोबारीहरुसँग बताएका छन्। भारतको सिमाना जोडिएको गणेशपुर क्षेत्रमा काठ, खसी, कपडा, मल जस्ता सामानको तस्करी चल्दा उनले राम्रो कमाइ गरेका थिए। तर अहिले यी गतिविधिहरूमा गिरावट आएपछि उनले स्थानीय साना व्यवसायीहरूमाथि माहिनावारी असुली थालिसकेका छन्। स्थानीय स्रोतका अनुसार, जो सुरेन्द्रलाई मिलाउँदैन, उसले सानो व्यापार गर्न समेत हैरानी खेप्नुपर्छ। डीआईजी कार्कीसँग आफ्नो प्रत्यक्ष पहुँच छ भन्ने हौसलामा, उनले तस्करहरूलाई समेत धम्की दिने गरेका छन्।
सुरेन्द्रको दरबन्दी कपिलवस्तु नभएर नवलपरासी भए पनि, उनी ६ वर्षदेखि निरन्तर गणेशपुर क्षेत्रमा घुमुवा रहँदै आएका छन्। छ महिनाभन्दा बढी एउटै ठाउँमा बस्न नपाइने नियमलाई बेवास्ता गर्दै उनले आफ्नो सञ्जाल बलियो बनाएका छन्।
एसपी नवराज अधिकारी कपिलवस्तु भएको बेला केही समयका लागि प्युठान सरुवा भए पनि, जब एसपी दानबहादुर कार्की कपिलवस्तु आए , उनी पनि गणेशपुरकै घुमुवा भई पुनः फर्किए। त्यसपछि उनी निरन्तर गणेशपुरमै घुमुवा भएर रजाइँ गरिरहेका छन्। सबैभन्दा रोचक कुरा त के छ भने, गणेशपुरमा आउने हरेक कार्यलय प्रमुखलाई खुसी पार्दै उनले आफ्नो पद सुरक्षित गर्दै आएका छन्। गोप्य सूचनामा भन्दा असुलीमा माहिर भैसकेका सुरेन्द्र, माथिल्लो तहको संरक्षणमा खुलेआम चलखेल गरिरहेको स्थानीयहरू बताउँछन्।