
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दावासिनी कंसाकारलाई सांसद नबनाउन सर्वाेच्च अदालतले आदेश दिएको छ ।
निर्वाचन आयोगले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाए पनि सोमबार सर्वाेच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अल्पकालीन आदेश जारी गर्दै जेजस्तो अवस्थामा थियो सोही अवस्थामा राख्न आदेश दिएको हो ।
इजलासले श्रेष्ठको पद तत्काललाई यथावत राख्न भन्दै कारण देखाऊ र अल्पकालीन आदेश जारी गरेको छ । तर, रास्वपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर उनको सांसद पदमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएर पनि सदर भइसेकेको छ ।
साथै, कंसाकारले आयोगबाट प्रमाणपत्रसमेत लिइसकेकी छन् । कंसाकारले आइतबार नै सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेकी छन् ।
तर, सोमबारको अदालतको आदेशसँगै कंसाकारको तत्काल शपथ रोकिएको छ भने १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिइएको छ । लिखित जवाफ पेशपश्चात्मात्र अन्तिम फैसला हुने बताइएको छ ।