तस्करीले देशलाई आर्थिक रुपमा समस्या, नेपालमै बन्यो पावर बैंक (अर्थरफ्तार)

तस्करीले देशलाई आर्थिक रुपमा समस्या, नेपालमै बन्यो पावर बैंक (अर्थरफ्तार)

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले मुलुकलाई आर्थिक रुपमा टाट पल्टाउने गरि भएको सुन तस्करी प्रकरणले देशको प्रतिष्ठामाथि नै आँच आउने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कडा सुरक्षाकाबीच क्वीन्टल सुन भित्रिनु गम्भीर विषय भएको बताएका छन् । यसले नेपालको प्रतिष्ठामा नै प्रश्न उब्जिएको सांसद शर्माको भनाई छ ।

उनले सुन तस्करी प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष नभइ फरक ढंगले आवाज उठाउनुपर्ने बताए । शर्माले उक्त विषयमा गहिरो अनुसन्धान हुनुपर्ने भन्दै सुन तस्करी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने गरी अनुसन्धान गर्नुपर्ने जिकिर गरे ।

बाणिज्य बैंकहरुको खराब कर्जा अरबौँले वृद्धी

पछिल्लो समय मर्ज गरेर ठुला बनाइएका बैंकहरुको खराब कर्जा अत्यास लाग्दो गरि वृद्धि भइरहेको छ । हाल एनसीसी बैंकलाई विलय गराएपछि निकै ठूलो बैंकको रुपमा खडा भएको कुमारी बैंक निष्कृय कर्जाको आकार कुल कर्जाको ४.७७ प्रतिशत पुगेको छ ।

हिमालयन, नेपाल इन्भेष्टमेण्ट मेगा, प्राइम, प्रभू र नबिल बैंक पनि ठूलो मात्रामा निष्कृय कर्जा रहेको देखिएको छ । जुन विगतमा बाणिज्य बैंकहरुको निष्कृय कर्जाको अनुपात कुल कर्जाको २ प्रतिशतभन्दा कम नै रहँदै आएको थियो । तर अहिले औसतमै २.८ प्रतिशत निष्कृय कर्जा रहेको विवरणहरु प्रकाशित भएका छन् ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार गत सातासम्म बाणिज्य बैंकहरुले ४२ खर्ब ९४ अर्ब कर्जा लगानी गरेका छन् । त्यसको औसत दरमा हिसाब गर्दा १ खर्ब २० अर्बभन्दा धेरै रकम ‘खराब कर्जा’मा पुगेको देखिन्छ ।

अर्थमन्त्रालयलाई सहुलियतपूर्ण कर्जाको भुक्तानी गर्न सकस

ब्याज अनुदानको रकम निकासा नगर्दा सरकारप्रतिको विश्वसनीयतामा प्रश्न उठेको भन्दै नेपाल राष्ट्र बैंकले तत्काल अर्थ मन्त्रालयलाई सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान निकासा गर्न आग्रह गरेको छ ।

अहिले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा देखिएको समस्या समाधान गर्ने विषयमा छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, विगतमा सरकारले गरेको प्रतिवद्धताअनुसार सहुलियतपूर्ण कर्जा लगानी गरेका बैंकहरुले सरकारबाट ब्याज अनुदान वापत ९ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको मन्त्रालयको दाबी छ ।

नेपाल बैंकर्स संघका अनुसार गत कात्तिकदेखि सरकारले ब्याज अनुदानको रकम निकासा गरेको छैन। लक्ष्यअनुसार राजस्व संकलन नहुँदा स्रोतको अभाव भएको भन्दै सरकारले ब्याज अनुदानको रकम निकासा गरेको छैन ।

नेपालमै बन्यो पावर बैंक

यार्सा टेक प्रालिले ‘निजी’ नामक मिनी इन्भर्टर (पावर बैंक) सार्वजनिक गरेको छ । गेमिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको उक्त कम्पनीले ‘जुनकिरी’ नामक बल्बसँगै ‘निजी’ पावर बैंक बजारमा ल्याएको छ । तत्कालका लागि निजीले पावर ब्याकअपको समस्या समाधान गर्ने कम्पनिको दाबी छ ।

कम्पनिमा अनुसार ८,८०० एमएएच क्षमताको ब्याट्री रहेको निजीमा १२ र पाँच भोल्टका दुई ओटा पोर्ट रहेका छन् । भने उक्त डिभाइसले विद्युतीय उपकरण जस्तै स्मार्टफोन, सीसीटीभी, क्यामेरा, राउटर लगायतका डिभाइसमा आवश्यक विद्युत आपूर्ति गर्नेछ ।

यस्तै उक्त पावर बैंकले विभिन्न डिभाइसका लागि ६ देखि ८ घण्टासम्मको ब्याकअप उपलब्ध गराउने कम्पनीको भनाई छ ।

वीन बहुउद्देश्यीय सहकारीद्धारा व्यापार मेला आयोजना

वीन बहुउद्देश्यीय सहकारी संस्थाले १४ औं ‘वीन एम कुप ट्र«ेड फेयर’ आयोजना गर्ने भएको छ । मंगलबार एक कार्यक्रमका बीच संस्थाले साउन २३ देखि २६ सम्म व्यापार मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

व्यापार मेलमामा नयाँ वस्तु तथा खाद्य साम्रगीको प्रवद्र्धन गर्ने वीनले जनाएको छ । मेलाको मुख्य आकर्षकको रुपमा अष्टमण्डल, बेकरी, क्याण्डी, तितौरा, अचार र स्न्याक्सहरू रहनेछन् ।

हस्तकलाका चाँदी, धातुका गरगहना, प्राकृतिक रेशा, नेपाली कागज, पस्मिना, फेल्ट, ऊनी, काष्ठ, पोते, नेपाली ढाका, कपडा र खाद्य साम्रगीसहित ५१ वटा स्टलहरू प्रदर्शनी तथा बिक्रीमा राखिने आयोजक वीनको भनाई छ । १५ हजारले व्यापार मेलाको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *