तालवाराहीमा भूपू विद्यार्थीको सहयोग

तालवाराहीमा भूपू विद्यार्थीको सहयोग

पोखरा । तालवाराही माविका विद्यार्थीको साझा संस्था भूतपूर्व विद्यार्थी एसोसिएसनको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ ।

विद्यालयका पूर्व विद्यार्थी एवं गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले २०१४ सालमा स्थापना भएको तालवाराहीको समग्र शैक्षिक क्षेत्रको विकासमा योगदान धेरै लामो र निरन्तर रहेको बताइन् । गुणस्तरीय शिक्षाका लागि एसोसिएसनको भूमिका अब्बल रहने उल्लेख गर्दै विद्यालयले शिक्षा क्षेत्रमा उल्लेख्य फड्को मारेको बताइन् । राज्यबाट जति पाउनु पर्ने साथ सहयोग विद्यालयले नपाएकोमा गुनासो गर्दै आफूले विद्यालयको शैक्षिक गुणस्तर विकास र भौतिक पूर्वाधारका लागि सधैँ आवाज उठाउने प्रतिबद्धता जनाइन् ।

भूपू विद्यार्थी एसोसिएसनका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व सांसद राजीव पहारीले विद्यार्थीबीच भाइचारा वृद्धि गर्ने सबैलाई एउटै छातामुनि आवद्ध गर्ने र अध्ययन गरेको विद्यालयको गरिमालाई उच्च राखी हरेक तवरबाट सहयोग गर्ने उद्देश्य राखी एसोसिएसन स्थापना गरिएको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपानेले नेपाल सरकारबाट प्राप्त आर्थिक सहयोगले मात्र विद्यालय सञ्चालन गर्ने कठिनाइ हुने गरेको गुनासो गरे । विद्यालयले शैक्षिक एवं भौतिक रुपमा गरिएको प्रगतिले विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको ठोकुवा गरे ।

एसोसिएसनले मेघा अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष १ सय विद्यार्थीलाई छात्रवृद्धि दिने

प्राचार्य ताराप्रसाद पोखरेलले विद्यालयले शैक्षिक भौतिक प्रगति गरिरहेको बताए । उनले विद्यालयले व्यवस्थापन र शिक्षा संकायको पढाइ भइरहेका जानकारी दिँदै यसै शैक्षिक सत्रदेखि होटल म्यानेज्मन्टको अध्यापन सुरु गरिएकोे सुनाए ।

वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय सरकारबाट हुने बजेट विनियोजनमा आफूले आवाज उठाउँदै आएको र आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

अध्यक्षको आसनबाट एसोसिएसन अध्यक्ष नारायण पहारीले देशभित्र र बाहिर छरिएर रहेका विद्यार्थी एकीकृत गर्नुको साथै परिचय र सहकार्यको माध्यमबाट विद्यालयको शैक्षिक विकासलाई सामाजिक उत्तरदायित्व सम्झेर उद्देश्य प्राप्तिमा कटिबद्ध रहने कुरामा जोड दिए ।

एसोसिएसनले मेघा अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष १ सय जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गर्ने योजना रहको अध्यक्ष पहारीले बताए ।

सो अवसरमा हालै सञ्चालित होटल म्यानेज्मेन्ट संकायका लागि आवश्यक परेको प्राक्टिकल ल्याब बनाउन भूपू विद्यार्थीबाट संकलित २ लाखको चेक एसोसिएसन अध्यक्ष नारायण पहारीले व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपानेलाई हस्तान्तरण गरे । पोखरा ६ लेकसाइडमा सञ्चालित उक्त विद्यालयमा हाल करिब १ हजार विद्यार्थी पढ्छन् ।

कार्यक्रम सञ्चालन सदस्य गणेशराज पहारीले गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top