
काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला ’नाडा अटो शो, २०२३’ मंगलबारदेखि शुरु भएको छ । हरेक वर्ष गरिँदै आएको नाडा अटो शो कोरोना संक्रमणका कारण तीन वर्षअघिदेखि हुन सकेको थिएन । यो वर्ष शुरु भएको अटो शोमा इलेक्ट्रिक भेइकलहरुलाई प्रमुख प्राथमिकतामा राखिएको छ । मेलामा झण्डै २० अर्ब रुपैयाको कारोबार हुने व्यवयीहरुले अपेक्षा गरेका छन् ।
नाडाको १५ औँ संस्करणको अटो शो सुरु भएसँगै अर्थतन्त्र चलायमान हुने धेरैको अपेक्षा रहेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल अटो शो ले आयोजना गरेका यो मेला कोभिड–१९ पछिको ठुलो आर्थिक गतिविधिका रुपमा लिइएको छ । हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगको भरपुर प्रयोग गर्ने मेलाको रुपमा यसलाई हेरिने गरिएको छ । उक्त मेला उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रको आर्थिक रूपान्तरणको वाहक भएको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहम् भुमिका हुने उल्लेख गरे । यस्तै, अहिले घर जग्गा, शेयर बजार र अटो बजारमा केही समस्या रहेको भन्दै अब बिस्तारै समस्या समाधान हुने अर्थमन्त्री महतले दाबी गरे ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका तीन छाता सङ्गठनका अध्यक्षहरुले नियमक निकायहरुले निजी क्षेत्रका सुझावहरुलाई सम्बोधन गर्न नसक्दा अर्थतन्त्र मन्दीमा गएको बताए । उनले राष्ट्र बैंकले निजी क्षेत्रले मुलुकको लागि भन्दा पनि आफ्ना लागि मात्रै सुझावहरु दिएको भन्ने मान्यताका आधारमा नीतिहरु बनाएको भन्दै असन्तुष्ट जनाए । निजी क्षेत्रले दिएका सुझावहरुलाई सरकार र नियमनकारी निकाय राष्ट्र बैंकले सम्बोधन नगर्दा मुलुक आर्थिक मन्दितर्फ उन्मुख भएको उनको भनाई छ ।
त्यस्तै, नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाले कर्जाको सिमा तोक्ने अधिकार बैंक तथा वित्तीय संस्थाहरुलाई दिनुपर्ने बताए । उनले राष्ट्र बैंकले कर्जा व्यवस्थापन निर्देशनले अटो व्यवसायीहरु थप समस्यामा परेको बताए । समूहको एक जना व्यवसायी कर्जाको कालोसूचिमा पर्दा अन्य सबै कालोसूचिमा पर्ने व्यवस्थालाई तत्काल सच्याउनका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने थापाले बताए ।
सवारीको मेलाकै रुपमा अटो शोमा चार पाङ्ग्र्रे, दुई पाङ्ग्रे सवारी ब्राण्डसहित अन्य अटो कम्पोनेण्ट, टायर, लुब्रिकेन्ट तथा स्पेयर पार्टस्सहित १२० स्टलहरु रहेका छन् । जसमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको समेत स्टलहरु राखेर सहभागिता जनाएका छन् । मेलामा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहेको छ । मेलामा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ । भदौ ३१ गतेसम्म ६ दिन चल्ने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ताहरूले शोको अवलोकन गर्ने र २० अर्ब रुपैयाँ बढीको व्यापार हुने नाडाले जनाएको छ । अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ ।