
- सुजन चालिसे
काठमाडाैँ । कुनै समय एमालेमा शक्तिशाली मानिने बामदेव गौतम अहिले घरको न घाटको जस्तै भएका छन् । घरी यता घरी उता गर्दै राजनीतिक रोटी सेक्ने बामदेवलाई उनकै समकालीन नेताहरुले पत्याउन छाडेपछि पार्टी र सत्ता राजनीतिमा उनको पकड कमजोर बनेको छ । हाल बहाल रहेको राष्ट्रियसभा पदको अवधि सकिएपछि बामदेवको राजनीति रसविहिन बन्नेछ ।
कुनै समय राष्ट्रिय राजनीतिमा बलियो पकड रहेका बामदेव गौतमको आबद्धता नेकपा एकता राष्ट्रिय अभियानमा संरक्षकको रुपमा छ । तत्कालीन नेकपा फुटाउनबाट जोगाउने, कम्युनिष्टहरुलाई मिलाउने भन्दै कहिले ओली त कहिले माधव नेपालको फेरो समाउन पुग्ने बामदेवलाई अन्तिममा न ओलीले पत्याए, न त माधव नेपालले । समकालीन राजनीतिमा कसैसँग पनि मिल्न नसक्ने, मनमौजी अभिव्यक्ति दिँदै हिँड्ने र मिलाप भन्दा पनि विभाजनको कारक बन्ने अवगुण बामदेवमा रहेको जानकारहरु बताउँछन् । यसको तुष भने बामदेवले हरेक सार्वजनिक कार्यक्रमहरुमा पोख्दै आएका छन् ।
हाल बामदेवले आफुलाई जति वजनदार र राजनीतिक खेलाडी सम्झन्छन्, उनि त्यो भन्दा कयौँ गुणा कमजोर बनिसकेका छन् । बामदेवसँग अहिले न जनाधार छ, न राजनीतिक दलको साथ । २०७४ को निर्वाचनमा पराजित भएपछि बामदेवको ओरालो यात्रा सुरु भएको हो ।
तत्कालीन बाम गठबन्धनको उम्मेदवार हुनुको बाबजुत पनि उनि कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए । प्रतिनिधि सभामा पराजित भएपनि बामदेव केपी ओलीको कृपाले राष्ट्रिय सभामा निर्वाचित भएका थिए । नेकपामा चलिरहेको ओली भर्सेस प्रचण्ड–माधवबीचको द्वन्द्वमा बामदेवलाई आफ्नो पक्षमा लिन ओलीले बामदेवलाई काखि च्यापेका थिए । तर नेकपामा खटपट सुरुभएदेखि नै बामदेवले मध्यमार्गी बाटो समाते । उनी कहिले ओलीको त कहिले प्रचण्ड माधवको पक्षमा लाग्न थाले, जसका कारण कुनैपनि समुहले उनलाई पत्याएन । बामदेव न त एमालेमै रहने वातावरण बन्यो, न त माधव नेपालसँग नयाँ दलमा हाजिर हुन सके । अहिले दुबैतर्फ संलग्नताको प्रयास गरिरहेका छन्, तर उनको आवश्यकता कसैले महशुस गरेका छैनन् ।
पछिल्लो समय राजनीतिक दल, सरकार, शक्ति र जनमत सबैबाट उनी टाढिँदै गएका छन् । उनले अब राष्ट्रिय राजनीतिमा चाहेर पनि ब्याक हुनसक्ने आधार बाँकी छैन । हाल बहाल रहेको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि बामदेवको राजनीति रसविहिन बन्ने निश्चित छ । सायद सोहि नियतीबाट बच्ने प्रयासस्वरुप सार्वजनीक खपतका लागि भए पनि बामदेव अनावश्यक आरोप प्रत्यारोप र टिकाटीप्पणीमा केन्द्रीत हुने गरेका छन् ।