
काठमाडौं । सय किलो सुन भन्सार जाँच पास भएर बाहिरियो । तर अर्थमन्त्रालय अन्तर्गतको भन्सार वा त्यहाँका कुनै पनि कर्मचारीले त्यो कुरा थाहा पाएनन् ।
विमानस्थलमा नेपाल प्रहरीको पनि ठूलो फौज नै परिचालन गरिएको छ । गृहमन्त्रालय अन्तर्गतका प्रहरीले पनि सय किलो सुन आएको थाहा पाएनन् ।
एक्स रे मेसिले रि चेक गर्नुपर्ने संकेत २२ पटकसम्म दिएको थियो । तर रि चेकको प्रयास नै गरिएन ।
गृह मन्त्रीले चाहेकै मान्छे एअरपोर्टमा हाकिम भएर जान्छ । अर्थमन्त्रीले चाहेकै मान्छे एअरपोर्ट भन्सारमा हाकिम भएर जान्छ । अर्थात गृह र अर्थमन्त्रीले रुचाएका मान्छे नै एअरपोर्टमा जान पाउँछन् ।
किनभने एअरपोर्ट मालदार अड्डामै पर्छ । हुनै नहुने मात्रामा सुनको तस्करी भइसकेपछि, सुन हातबाट उम्किसके पछि गृह र अर्थमन्त्री पालौपालो एअरपोर्टको निरिक्षणमा गएका छन् ।
भन्ने गरिन्छ – एअरपोर्टमा हुने दूई नम्बरी कमाईको हिस्सा माथिसम्म पुग्छ । अब कति माथिसम्म पुग्छ, त्यो त थाहा छैन । तर प्रतिपक्षी र केही पक्षकै सांसदहरुले भनेका छन् – अर्थमन्त्री र गृहमन्त्रीसम्मको सेटिङ नभएसम्म यति ठूलो परिमाणमा तस्करी हुनै सक्दैन ।
यसकारण यी दुवै मन्त्रीले राजीनामा दिनु पर्छ । राजीनामा माग सम्बन्धी विषय र विवादित व्यापारी राकेशकुमार अडुकिया र उनका छोरा रोहन अडुकिया कहाँ छन् त ?
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको नेपाल प्रहरी र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नेतृत्व गरेको भन्सार कार्यालय दुवै निकायले छाडेको सय किलो सुन प्रधानमन्त्री कार्यालयले नेतृत्व गरेको राजश्व अनुसन्धान विभागले समाएको थियो ।
रोचक के छ भने अर्थमन्त्री र गृहमन्त्री अन्तर्गतका दुवै निकायका प्रमुखहरु सय किलो सुन आउने दिन बिदामा बसेका थिए ।
यी र यस्तै धेरै अनौठा घटनाक्रमले अर्थ मन्त्रालय अन्तर्गतका निकाय र गृहमन्त्रालय अन्तर्गतका निकायको व्यवस्थित योजनामा सुन आयात भएको दावी गर्दै प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद नै अवरोध गरेको छ ।
सय किलो सुन भित्र्याउने मामिलामा गृहमन्त्री र अर्थमन्त्रीसम्म सेटिङ नगरी सम्भव नरहेको दावी अन्य सांसदहरुले समेत गरेका छन् ।
दुवै मन्त्रीहरु पदमा रहँदासम्म सुन अनुसन्धान प्रभावित हुने जिकिर गर्दै दुवैलाई राजीनामा गर्न लगाएर अनुसन्धान गर्नुपर्ने माग संसदमा उठेको छ ।
गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिएसम्म सुन तस्करीको अनुसन्धान प्रभावकारी नहुने तर्क दिइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका कार्यालयहरुमा सरुवा भएर जान प्रतिस्पर्धा हुने गर्छ ।
त्रिभुवन विमानस्थलको सुरक्षा र भन्सारको प्रमुखमा गृह र अर्थ मन्त्रीले चाहेका व्यक्तिले नै पहिलो अवसर पाउँछन् ।
यहि तथ्यलाई समाउँदै कांग्रेसकै एक सांसदले बुधबार दुई मन्त्रीको राजीनामा माग गरे ।
सय किलो सुनमा कैयन अस्वभाविक घटना, रि चेकको संकेत समेत वास्ता गरिएन
सय किलो सुन तस्करी भएर भन्सार पास भएको प्रकरणमा .धेरैवटा घटना अप्राकृतिक र अस्वभाविक पाइएका छन् ।
भन्सार र सुरक्षाका प्रमुख नै बिदामा – हङकङबाट सुन आएर साउन २ गते भन्सार पास भएको थियो ।
साउन ३ गते राजस्व अनुसन्धानको टोलीले त्यो सुन बरामद गरेको थियो । तर त्यो समयमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोख्रेल दुई महिने बिदामा थिए ।
भन्सार प्रमुख पोख्रेल इ सिगरेट प्रकरणमा पनि मुछिएका थिए । उनीसँग सिआइबीले बयान समेत लिएको थियो ।
भन्सार सुरक्षामा खटिएको नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरी पनि यसपटक बिदामा थिए ।
विवाद उत्पन्न भइ हालेमा ‘हामी थिएनौं, हामीलाई थाहा छैन’ भन्न सजिलो होस् भनेर नियोजित रुपमै उनीहरु विदामा बसेको आँकलन गरिएको छ ।
२२ पटक रि चेक गर्न मेसिनले संकेत दिएको थियो तर रि चेक गरिएन – गएको वैशाख १० गते दर्ता भएको रेडि टे«डले यसबीच ३३ पटक ब्रेक सु आयात गरिसकेको थियो ।
३३ मध्ये २२ पटक भन्सारमा जडान गरिएको एक्स रे मेसिनले ‘आर सी’ अर्थात रि चेकको संकेत दिएको थियो । तर भन्सारका कर्मचारीले कुनै पटक पनि दोहोर्याएर चेक गरेन ।
भन्सारका प्रमुख विदामा बस्ने अनि तल्लो तहका कर्मचारी मात्रैको हिम्मतले यति ठूलो परिमाणमा सुन आयात हुन नसक्ने दावी गर्दै एमालेका सांसदहरुले उच्च स्तरीय छानविन समिति गठनको माग गरेका छन् ।
अर्थमन्त्रालयले यसपटक विगतमा भन्दा कमजोर छानविन समिति गठन गरेको भन्ने असन्तुष्टि पनि प्रतिपक्षी दलको छ ।
ब्रेक सु, पानी तान्ने पम्प र इ सिगरेटमा सुन, पूर्वसभामुख र उनका छोरा पनि मुछिए
ब्रेक सुमा सुन जोडेर ल्याउँदा भन्सार पार गराउन सकिन्छ सकिन्न ? भन्ने परीक्षण गर्ने काम बैशाख अघि नै भएको थियो ।
यात्रुका रुपमा केही व्यक्तिले दूई पोका ब्रेक सु ल्याएका थिए । त्यो ब्रेक सु सजिलै भन्सार पार भएपछि पानी तान्ने मोटरमा पनि सुन जोडेर ल्याइयो ।
जेठ १२ गते युएईबाट ५२ किलो वजनको पानी तान्ने पम्प ल्याइएको थियो ।
खासमा पानी तान्ने मोटरको वजन २० किलो मात्रै हुने भएकोले त्यसबेला ३२ किलो चाहिँ सुन रहेको दावी गरिएको छ ।
यस्ता मोटरको भन्सार मूल्यांकन ३५ डलर हुन्छ । तर भन्सारले ४५० डलर कायम गरेर कर लिएको थियो ।
मोटरपछि ब्रेक सुमा सुन राखेर ल्याउने धन्दा सुरु गरियो । ब्रेक सुको भन्सार मूल्यांकन प्रति पिस ७५ सेन्ट हुनु पर्नेमा तीन डलर कायम गरिएको थियो ।
प्रतिपिस ब्रेक सुको वजन ४ सय ग्राम हुनु पर्नेमा ९५० ग्राम तोल देखिएको थियो । वजन देखिएको फरकमा भन्सारका कर्मचारीले थाहा नपाए झै गरे ।
प्रति ब्रेक सुको तौल ४ सय ग्राम हुँदा १६० वटाको वजन ६४ किलो मात्रै हुनु पथ्र्यो । तर १५२ किलो पाइएको छ ।
गत पुसमा भन्सारले बरामद गरेको इ सिगरेट चाँडै लिलामी गर्न पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलले पटक पटक फोन गरेर दबाब दिएको विषय सार्वजनिक भइसकेको छ ।
रेडी ट्रेडर्सको गोदाममा छापा, राकेशकुमार अडुकिया र उनका छोरा रोहन फरार
काठमाडौंको सोह्र खुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ छापा मारेको छ ।
गोदाममा भएको ६६ कार्टुन ब्रेक शु पनि बरामद भएको छ । बरामद भएको ब्रेक सु मध्ये आधाभन्दा बढीबाट सुन निकालिएको अवस्थामा फेला परेको छ ।
सुन प्रकरणमा व्यापारी राकेशकुमार अडु किया जोडिएपछि राजश्व अनुसन्धान विभागले बुधबार उनको कमलपोखरीस्थित घरमा छापा मारेको छ ।
सुन प्रकरणमा राकेशकुमार र उनका छोरा रोहनसमेतको संलग्नता रहेको शंका गरिएको छ । दुवै बाबुछोरा अहिले फरार रहेको अनुमान गरिएको छ ।
गोरखा विकास बैंकको घोटालमा पनि मुछिएका राकेशकुमार २६ जुनमा नेपालबाट भारत–हङकङ–दुबई हुँदै जुलाई ५ मा नेपाल फर्केका थिए । उनी नेपाल फर्केलगत्तै सुन भित्रिन थालेको थियो ।