दरबार हत्याकाण्ड र गौर काण्डको छानविन गर्ने प्रचण्डको घोषणा (न्यूज रफ्तार)

दरबार हत्याकाण्ड र गौर काण्डको छानविन गर्ने प्रचण्डको घोषणा (न्यूज रफ्तार)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले इतिहासका ठूला भ्रष्टाचार काण्डहरुको पनि अब फाइल खुल्ने दाबी गरेका छन् ।

प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको अनुसन्धान हुने भन्दै ती हत्याकाण्डमा धेरै रहस्यहरू लुकेको तर्क गरेका छन् ।

प्रधानमन्त्रीले यस्ता काण्डहरुको फाइल खोल्न अघि बढ्दा आफूलाई जनयुद्धको सुरुवात गर्ने बेलाको जस्तै अवस्था आएको बताउदै आएका छन् ।

यस्तै, प्रचण्डले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणको बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पु¥याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।

सांसद विकास कोष दबाब र बाध्यताः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद् विकास कोषका लागि बजेटमार्फत् रकम छुट्याउनु आफ्नो योजना नभएर बाध्यता रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । यस क्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको बताएका थिए ।

माओवादीका सांसदहरूलाई बजेटको बचाउ गर्न पनि उनले निर्देशन दिएका थिए । सांसद विकास कोषका लागि सबैतिरबाट दबाब आएको प्रधानमन्त्री प्रचण्डले दबाब कसले दिएको भनी किटान भने गरेनन् । तर, यसलाई कार्यविधि बनाएर लैजाने उनको भनाइ थियो ।

यस्तै, अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले समेत सांसद विकास कोषको बचाउ गरेका छन् । सांसद विकास कोषमा सांसदले सिफारिस मात्रै गर्ने र काम सम्बन्धित मन्त्रालयले गर्ने गरि अघि बढ्ने उनको दाबी थियो ।

प्रचण्ड बुधबार भारत जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने समय तय भएको छ । बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

भ्रमण दलमा ६० जनाभन्दा कमै हुने बताइएको छ । चारदिने भारत भ्रमणका लागि प्रचण्ड बुधबार भारत जाँदैछन् ।

भारत भ्रमणको क्रममा दुई देशको परस्पत हितमा कुराकानी हुने बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमणलाई मन्त्रिपरिषद् बैठकले समेत स्वीकृत गरिसकेको छ । तर, भारतले प्रचण्डको भ्रमणको केहिदिन अघि मात्रै लुम्बिनी र कपिलवस्तुलाई आफ्नो नक्सामा समेटेको तस्विर सार्वजनिक गरेपछि उनको भ्रमण प्रभावित हुने त होइन भन्ने आशंका उब्जिन पुगेको छ । यद्यपी प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो विषय उठाउने अपेक्षा भने गरिएको छ ।

भारतले विवादीत नक्सा सच्याउनैपर्छः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को विवादित नक्साप्रति आपत्ति जनाउदै भारतलाई त्रुटी सच्याउन लगाउनुपर्ने जिकिर गरेका छन् ।

विवादीत नक्सा सच्याउन लगाउन नसक्ने हो भने प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने दाबी गरेका ओलीले भारतको नयाँ संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताए ।

भारतजस्तो नमूना लोकतन्त्र भनिएको ठाउँको त्यो व्यवहारलाई उचित भन्न नमिल्ने ओलीको भनाइ थियो । प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमणमा जाँदैछन् ।

उनले देशको अहित हुने गरि कुनै सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

लुम्बिनी र कपिलवस्तुलाई भारतले आफ्नो नक्सामा राखेपछि…

उर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतले संसद भवनको नक्सामा नेपालका भूभाग समेटेको विषय सरकारको नोटिसमा रहेको बताएका छन् ।

भारतले नयाँ संसद भवनमा कपिलवस्तु र लुम्बिनीलाई आफ्नो नक्सामा समेटेको तस्बिर सार्वजनिक भएपछि यो विषयमा विरोध सुरु भएको छ ।

प्रधानमन्त्री पयष्पकमल दाहाल ’प्रचण्ड’ भारत भ्रमणमा निस्किनै लागेको बेला यस्तो विषय सार्वजनिक भएपछि यसबारे चौतर्फी चासो र चिन्ता व्यक्त गर्न थालिएको छ ।

संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् ।

बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेपाली भूमी भारतको नक्सामा, बाबुरामको आपत्ति

नेकपा समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रले कूटनीतिक विवाद सिर्जना गरेको दाबी गरेका छन ।

नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई त्यस भित्तेचित्रमा भारतले आफ्नै भूभाग जसरी दर्शाउँदा द्विपक्षीय सम्बन्धमा दरार ल्याउने उनको जिकिर छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विटमा भनेका छन्, ‘यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ। विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ, भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको अभिप्राय र सन्देशलाई बेलैमा बताउनु उपयुक्त हुन्छ ।’

भारतले केही दिनअघि मात्रै उक्त संसद् भवन उद्घाटन गरेको हो । यो प्रकरणले नेपालमा भारतले मिचाहा प्रवृत्ति देखाएको भन्दै आलोचना तीब्र बन्न पुगेको छ ।

प्रधानन्यायाधीशः कार्कीविरुद्ध उजुरी आह्वान

लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतले नेतृत्व पाउने भएको छ । संसदीय सुनुवाई समितिले पूर्णता पाएसँगै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढेको छ ।

संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको सम्बन्धमा उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

सुनुवाइ समितिले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । साथै बैठकमा कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरूलाई प्रदान गरिएको छ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ ।

उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सचिवालयबाट प्रस्ताव गरिएको संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ । योसँगै अब सर्वोच्चले नेतृत्व पाउने देखिएको छ ।

रेशमको माफीविरुद्ध सर्वोच्चमा रिट, के छ अदालतको नजिर ?

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजायबाट माफी पाएका रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।

सर्वोच्चले यो निवेदनमा बुधबार पेसी तोकेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए ।

राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् । यस्तै, प्रकृतिको माफीमा एमालेका दिवंगत नेता बालकृष्ण ढुंगेलविरुद्ध पनि सर्वोच्चमा रिट दायर भएको थियो । त्यसबेला अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।

त्यसपछि ढुंगेल एमालेको पोलिटब्यूरो सदस्य समेत बने । आफ्नै घरको बाथरुममा मृत फेला परेका ढुंगेलको माफीविरुद्ध परेको रिटको फैसला सर्वोच्चले यहि बैशाख ३ गते गरेको छ ।

सर्वोच्चले सजाय माफीविरुद्धको रिट नै खारेज गरिदिएको छ । तर, फैसलाको पूर्णपाठ भने सर्वोच्चले सार्वजनिक गरिसकेको छैन् ।

पहिचानवादीलाई वार्तामा आउन कोशी सरकारको आह्वान

प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलमा आउन कोशी प्रदेश सरकारले औपचारिक रुपमै आव्हान गरेको छ ।

कोशी सरकारका प्रवक्ता कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले प्रेस विज्ञप्तिमार्फत् आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गरेका हुन् ।

वक्तव्यमा जुनसुकै आन्दोलनका निकास वार्ताका टेबुल भएकाले नामकरणको विरोधमा भइरहेको आन्दोलनका कार्यक्रम छाडि वार्तामा आउन आग्रह गरिएको छ ।

वक्तव्यमा नामकरणका विषय कुनै दल वा सरकारकारको भन्दा पनि सदस्यहरूको आफ्नो प्रदेशको नामकरण आफैं गर्न पाउने अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको धारा नामकरण कोशी प्रदेश रहन पुगेको उल्लेख छ । तर, पहिचानवादीहरुले भने प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै आएका छन् ।

सरकारले वार्ता आह्वान गरेपछि आन्दोलनका कार्यक्रम समेत फिर्ता लिइएको बताइएको छ ।

वालेनले गरे सांसदलाई वडाध्यक्षसँग तुलना

सरकारले सांसद विकास कोष ब्यूताएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’वालेन’ले सांसददहरुलाई वडाध्यक्षको लेवलमा आएको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्नेगरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ प्रस्ताव गरेका छन ।

जसअन्तर्गत न्यूनतम १ करोडको आयोजना बनाउनुपर्ने छ । त्यस्ता आयोजनामा सडक, सिँचाइ, खानेपानी, शिक्षा, खेलकुदलगायतका आयोजना हुनुपर्ने व्यवस्था गरिएको छ । तर, यो विषय पहिलेदेखि नै विवादीत बन्दै आएको थियो ।

सरकारले दुई वर्षअघि खारेज गरेको ‘सांसद विकास कोष’को नामले परिचित पूर्वाधार विकास साझेदार कार्यक्रम ब्युँताइएपछि आलोचना तीब्र बन्न थालेको छ ।

बालेनले वडाध्यक्षले गर्ने काममा सरिक हुने भए किन माननीय बनेको भन्दै प्रश्न समेत गरेका छन ।

पेस्तोल देखाएर बैंकबाट लुटियो लाखौं रकम

महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।

लुटिएको रकममा २÷३ लाख तलमाथि हुनसक्ने बैंकले जानकारी दिएको बताइएको छ । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ ।

बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।

फैसला नभएपछि सन्दीप क्रिकेट खेल्न नजाने

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ गर्नुपर्नेमा न्यायाधीश शंकरबहादुर राईको इजलासले किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै मंगलबार मुद्दाको सुनुवाइ गरेन ।

मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो ।

सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि नै दक्षिण अफ्रिका जाने तालिका थियो । दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरिसकेको छ ।

दक्षिण अफ्रिकामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली जिम्बावे प्रस्थान गर्ने छ । त्यहाँ नेपालले असार ९ गतेसम्म खेल्ने तालिका बनिसकेको छ ।

अदालतको आदेशमा आनाकानी देखिएको भन्दै सन्दीप क्रिकेट खेल्न विदेश नजाने निर्णयमा पुगेका छन् ।

उनले आफूलाई अदालतले जे फैसला गर्नुपर्ने हो त्यो गरिदिए सहज हुने बताउदै आएका छन् ।

पछिल्लो समय सन्दीपको बलात्कार मुद्दा सार्नेक्रम चलिरहेको आरोप लाग्ने गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *