
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका छन् ।
बुधवार नेपाल रिटर्नी एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका हुन् ।
उनले पहिले देशलाई दलाल नोकरशाही पँुजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले शोषणको नयाँ–नयाँ रुपहरुलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताए ।
उनले संविधानले सबै प्रकारका अधिकारहरु दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौति रहेको बताए । उनले आजको दिन समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, पछौटेपन र गरिबीलाई अन्त्य गर्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
उनले भने, ‘संविधानमा जुन किसिमका परिकल्पनाहरु गरिएका छन् । नेपालमा समाजवाद स्थापनाको एउटा परिकल्पना । नेपालमा न्यायको, समानताको, विकासको र समृद्धिको जुन एउटा सोच अगाडी सारिएको छ । विचार अगाडी सारिएको छ । र समाजमा भएका सबै भेदभावहरुलाई, अन्याय, अत्याचार, थिचोमिचोहरुलाई, पछौटेपनलाई, गरिबीलाई, यि सबैलाई अन्त्य गर्ने संकल्प आजको दिनमा गर्नुपर्ने आवश्यकता छ । संविधानको पानालाई पल्टाएर हे¥यो भने संविधानले भन्न छुटेका कुरा सम्भवतः केही छैन होला । तर चुनौति के छ भने संविधानमा लेखिएको प्रावधानलाई व्यवहारमा लागू गर्ने कसरी ? नेपाली विशेषताको समाजवादलाई व्यवहारमा लागू गर्ने कसरी ? यसअर्थमा नेपाली विशेषताको समाजवादको बारेमा विषयवस्तुको अभाव देखिँदैन । गर्नुपर्ने कामको पनि अभाव देखिँदैन ।’
अध्यक्ष नेपालले संविधानमा उल्लेख गरिएका कुराहरुलाई व्यवहारमा लागू गरेर देखाउन आग्रह गरे । उनले एकीकृत समाजवादी र समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामहरुलाई साथ दिने बताए ।