
✍ राम बालक यादव
दलित सामाजिक विकास केन्द्र डंगरीद्वारा मायादेवी गाउँपालिकाका ८ वटै वडामा रहेका ७० वटा आत्मनिर्भर महिला समूहका सदस्यहरूलाई आयआर्जन व्यवसायका लागि ३२ लाख ७० हजार रुपैयाँको सहयोग प्रदान गरिएको छ।
उक्त सहयोग दलित, विपन्न, गरिब तथा मुस्लिम समुदायका १०५ जना महिलाहरूलाई उनीहरूको व्यवसायको प्रकृति अनुसार प्रदान गरिएको हो। संस्थाले प्रति व्यक्ति १५ हजारदेखि ४० हजार रुपैयाँसम्मको अनुदान प्रदान गरेको छ।
संस्था र युनाइटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा सञ्चालित “परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय परियोजना” अन्तर्गत विपन्न समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाका कार्यकारी निर्देशक राम शरण रैदासले जानकारी दिनुभयो।
मायादेवी गाउँपालिका–४ की उन्नति आत्मनिर्भर महिला समूहकी सदस्य आमिना खातुनले मोटरसाइकल ग्यारेज पसल सञ्चालन गर्नका लागि ४० हजार रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ। उहाँले उक्त सहयोगले जीविकोपार्जनमा टेवा पुग्ने बताउनुभयो।
संस्थाकी अध्यक्ष सुरजमती पासीका अनुसार कुल ३२ लाख ७० हजार रुपैयाँको सहयोग प्रदान गरिएको हो। साथै, संस्थाले मायादेवी गाउँपालिकाका सबै वडामा शिक्षा, स्वास्थ्य, पैरवी र जीविकोपार्जनका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको जानकारी दिनुभयो।