
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आवश्कताअनुसार नेपाली कांग्रेस संसदीय दललाई राम्रोसँग हाँक्न सक्ने क्षमता आफूमा रहेको बताएका छन् ।
शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र संख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने बताए । अहिले कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवा रहेका छन् । उनलाई उक्त पदबाट च्युत गरेर आफूले सो पद ओगट्ने प्रयास जारी रहेको थापाले बताएका हुन् ।
महामन्त्री थापाले उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनुका साथै नेता परिवर्तन भएको उदाहरण रहेको धारणा राखे ।
उनले नेपालमा निर्वाचन अगाडि गठबन्धन गर्ने संस्कृतिको बसेको र यसलाई कांग्रेसको निति महाधिवेशनले ब्रेक लगाउनुपर्ने समेत बताए । महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्ने जानकारी दिए ।
उनले लामो समयदेखि केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएकोले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित भएको पनि बताए ।
महामन्त्री थापाले कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने बताए ।