काठमाडौं । नेपाली कांग्रेसमा प्रष्ट दुई धारको राजनीति चल्ने गरेको छ । संस्थापन र इतरपक्षले एकले अर्कोलाई खुइल्याउने र सकेसम्म अर्कालाई सहजै नेता पनि नमान्ने र संरचनागत रुपले मात्रै एकै पार्टीमा रहेको जस्तो अवस्था बन्ने गरेको छ । तर, पछिल्लो समय महामन्त्रीद्वयले पार्टी सभापतिलाई पेल्दै लैजान थालेका छन् ।
कांग्रेस आफूलाई लोकतन्त्रको उच्चतम हिमायति दाबी गर्छ । प्रजातन्त्रमा विश्वास राख्ने कांग्रेस पार्टीमा भने खुलेरै दुई गुट सक्रिय हुँदा पनि यसलाई नियन्त्रणमा ध्यान भने दिन सक्दैन् ।
गुट नेताको आचरण, व्यवहार र भागबण्डामा केन्द्रित देखिन्छन् । विचार, आदर्श र स्थापित मान्यताका आधारमा नभई पद र प्राप्तिका लागि सक्रिय गुटका कारण कांग्रेस न विभाजनको बाटोमा जान सक्छ न एकले अर्कोलाई समर्थन गर्न सक्ने बाटोमै जान सक्छ ।
अझ, कांग्रेस सांगठनिक अराजकताको उच्चतहमा छ भन्दा पनि फरक नपर्ने अवस्था बन्न पुगेको आरोप लाग्ने गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेको भन्दै विरोध हुने गरेको छ । देउवाले महत्वपूर्ण राजनीतिक निर्णयमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गरेका छन् ।
सन्तुलन मिलाउन भन्दा पहिले आफ्नो गुटलाई सक्रिय पार्ने र त्यसपछि गुटका विभिन्न आयाममा खेलेर राजनीति गर्ने देउवाविरुद्ध महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले रचनात्मक दबाब सिर्जना गरिदिएका छन् ।
कतिपयले त महामन्त्रीद्वयले सभापति देउवाविरुद्ध रचनात्मक विद्रोह गरेको दाबी गर्ने गरेका छन् । उनीहरुले पार्टी विधानको अधिकार प्रयोग गर्दै जिल्ला सभापतिहरूको बैठक बोलाएपछि देउवा दबाबमा परेका छन् ।
महामन्त्रीद्वयले डाकेको बैठकमा ४२ जिल्लाका सभापति सहभागी छन् तर पार्टी सभापति देउवा भने अनुपस्थित छन् । देउवा पक्षका केहि सभापतिहरु पनि बैठकमा गएको बताइएको छ । तर, देउवाले नै केहिदिन पहिले नै केन्द्रीय समिति बैठक डाकिसकेका छन् ।
गएको निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो बनाएका देउवाले गठबन्धनको सन्तुलन मिलाउन नसक्दा कांग्रेस सरकार बाहिर पुग्यो । त्यसपछि व्यापक विरोध भयो ।
चुनावी समिक्षा बैठक नै नडाकेका देउवाले फेरि कांग्रेसलाई सत्तामा फर्काए । त्यसपछि उनी निकट मानिने बालकृष्ण खाँणमाथि नक्कली शरणार्थी प्रकरणमा जोडिएको गम्भीर आरोप लाग्यो । अहिले पुर्पक्षका लागि थुनामा रहेका बालकृष्णलाई कारबाही गर्नुपर्ने माग कांग्रेसमा जबरजस्त छ । तर, देउवा यसलाई टार्ने मनस्थितिमा देखिएका छन् ।
गगन थापाले कांग्रेसको आन्तरिक जीवन र चुनावी तालमेलमै प्रश्न उठाउदै देउवाको प्रवृत्तिले कांग्रेस सकिने दाबी गर्दै दबाब सिर्जना गरिरहे ।
दबाब सिर्जना गरेर मात्रै नहुने देखेपछि उनीहरुले पार्टी विधान अनुसार बैठक डाकेपछि भने महामन्त्रीद्वयले विद्रोह गरेको भन्न थालिएको छ।
कांग्रेस संस्थागत अराजकताको सिकार भएको वा देउवाको कार्यशैलीविरुद्ध महामन्त्रीले विद्रोह गरेको भन्ने प्रश्न भने पेचिलो बन्न पुगेको छ ।
विचार, सिद्धान्त, आदर्श, मूल्य मान्यतामै बहस छलफल हुनु र त्यसले गुट सिर्जना गर्नुलाई राजनीतिमा सामान्य ठानिएपनि पद र प्राप्तिका लागि बन्ने गुट भने अस्वभाविक नै मानिन्छन् ।
कांग्रेसभित्रको गुट पनि संस्थागत अराजकता र आन्तरिक लोकतन्त्रको नाममा व्यक्तिवादी चिन्तन हाबी हुँदै गएको त होइन ? यस्ता तमाम आरोप कांग्रेसमाथि लाग्न थालेको छ ।




