
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक सक्रियता थप बढाउदै लगेका छन् । कोइराला परिवारको विरासत आफ्नो काँधमा आउनुपर्ने ठान्ने शेखर गुट बैठकदेखि सभापति शेरबहादुर देउवामाथि दबाब सिर्जनामा उद्दत छन् । आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखरको तयारी छ । त्यसैले पनि उनी अचेल जेलदेखि देउवानिवाससम्म धाइरहेका छन् ?
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारको विरासत छुट्टै छ । राजाको प्रत्यक्ष शासनविरुद्ध जनतालाई अधिकार दिनुपर्छ भन्ने चेत फैलाउने त्यो परिवारले लामो समय मुलुकको राजनीतिमा शासन समेत चलायो । पार्टी राजनीतिदेखि सत्ता सञ्चालनमा सक्रिय कोइराला परिवार पछिल्लो समय भने आन्तरिक कलहका कारण नै कमजोर बन्दै गएको छ ।
कांग्रेस सभापतिमा शेरबहादुर देउवाले पार्टीमा जबरजस्त स्थान पक्का गरेका छन् । गुट बलियो पारिरहेका देउवा अब अर्को कार्यकालका लागि सभापतिका उम्मेदवार नहुने दाबी गरिदै आएको छ । तर, अहिलेसम्म देउवाले उत्तराधिकारी तयार गरि नसकेको अड्कल छ ।
देउवाले आफूपछि नेतृत्वको रुपमा तयारी गराएका बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा कारागारमा छन् । पूर्पक्षका लागि थुनामा रहेका खाँणलाई कारबाहीको माग उठेपनि मौन रहेका देउवाले त्यसपछि कसलाई अघि सार्लान ? यो चासोको विषय हो ।
यस्तो अवस्थामा १४औं महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर भने अब आफ्नो पालो आएको ठानिरहेका छन् । शेखरले गएको संसदीय दलको नेतामा गगन थापालाई समर्थन गरेकै बेला उनीमाथि आशंका गरियो । तर, गुटका बैठकमा होस वा बीपी साहित्य महोत्सवमा नै किन नहोस, उनी पार्टी नेतृत्वका लागि तयारी गरिरहेको पाइन्छन् ।
केहिदिन पहिले मात्रै गुटको बैठक सकेपछि शेखरले देउवासमक्ष पुगेर पार्टीमा एकलौटी गर्न खोजे नतिजा फरक आउनसक्ने चेतावनी नै दिए । यसरी उनी आक्रामक पेश हुँदै गरेको बेला जेलमा रहेका देउवाका प्रिय पात्र बालकृष्ण खाँणलाई भेटेर फर्किएका छन् । खाँणसँग शेखरले के विषयमा कुरा गरे भन्ने औपचारिक जानकारी सार्वजनिक नभएपनि उनीहरुले राजनीतिक यात्रा, खाँणको जेल जीवन लगायत विषयमा छलफल गरेको बुझिएको छ ।
शेखरले अब पार्टी नेतृत्व आफू लिने तयारीमा जुटेका समय गरिरहेका अर्थपूर्ण भेटलाई नजिकबाट नियाल्नेहरुले नै कोइराला परिवारका शशांक र सुजाता समेत मिले भने नतिजा सकारात्मक निकाल्न सक्छन् भन्न थालेका छन् । यद्यपी शेखरको दौडधुपले महाधिवेशनमा कस्तो प्रभाव पार्ला भन्ने विषय भने भविष्यमा नै प्रष्ट हुनेछ ।