
पार्टी फुटाएका माधव भन्छन्– ‘एकतामै बल छ’
नेकपा एमाले विभाजन गराएर एकीकृत समाजवादी गठन गरेका माधव नेपालले कम्युनिष्ट पार्टीबीच एकताको आवश्यकता औल्याएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष माधव नेपालले मिलेर नै शक्ति आर्जन गर्न सकिने दाबी गरेका हुन् । पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकतामा बल भएको जिकिर गरेका हुन् । तर, केहिसमय पहिले मात्रै पार्टी फुटाएर गएको विषयमा भने केहि बताएनन् । यद्यपी उनले एमालेभित्र व्यक्तिवाद हाबी भएका कारण पार्टी फुटाउनु परेको दाबी गर्ने गरेका छन् । छुट्टाछुट्टै पसल खोलेर कम्युनिष्ट पार्टीको विकास नहुने उनको भनाई छ ।
वामदेवलाई फसाद
वामदेव गौतमकै कारण तत्कालीन नेकपा फुटेको हो भन्नेहरु अहिले पनि उत्तिकै भेटिन्छन् । तर, उनै वामदेवले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान भने बामे सर्न समेत नसक्ने अवस्थामा पुगेको छ । एकता गर्नुपर्ने भन्दै घरि यता घरि उता गरिरहेका वामदेव एमाले अध्यक्ष केपी ओलीले पार्टीमा भित्र्याउन आनाकानी गरेपछि फेरि माधव नेपालको नेकपा एकीकृत समाजवादीतर्फ ढल्किन पुगेका छन् । बलियो पार्टी नभएपछि छटपटाएका वामदेवले सबै कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । पुष्पलाल श्रेष्ठको ४५ औं स्मृतिमा उनले समाजवादी मोर्चामा अलिधेरै पार्टीलाई समावेश गर्न आग्रह पनि गरेका छन् । वामदेव आफूले एमालेको सदस्यता नत्यागेको दाबी गर्दै सक्रिय राजनीति गर्ने बताएपनि ओलीको ग्रिन सिंग्नल नपाएपछि फेरि भौतारिन थालेका छन् ।
देउवा र गच्छदारबीच बैठकमै चर्काचर्की
कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र विजयकुमार गच्छदारबीच चर्काचर्की नै भएको छ । समयको ख्याल राखेर बोल्न आग्रह गरेका देउवालाई गच्छदारले आफू ज्यादै बदनाम भएको मान्छे भन्दै आफू बोलिरहे । बोल्दै गर्दा देउवाले समयको चापलाई ख्याल गर्न संकेत दिएपछि उनले आफूलाई डिस्टर्ब गरिरहन भने । देउवाले समयको चापबारे सम्झाएपनि गच्छदारले कांग्रेस कांग्रेस जस्तो बन्न नसकेको गुनासो गरिरहे । यत्तिकैमा देउवाले गच्छदारको माइक काटि दिएका थिए । यो चर्काचर्कीले बैठक हलमै केहिबेर हाँसो समेत चलेको थियो ।
‘विनोद चौधरीलाई सिध्याउन कांग्रेसभित्रैबाट षडयन्त्र’
डलर अर्बपति कांग्रेस सांसद विनोद चौधरीले आफूलाई हराउन आफ्नै पार्टीका नेताहरु लागेको आरोप लगाएका छन् । गएको प्रतिनिधिसभा बैठकमा आफूलाई हराउन पार्टीकै एक पक्षका नेताहरु लागेको भन्दै सांसद चौधरीले केन्द्रीय समिति बैठकमा गुनासो पोखेका हुन् । चौधरी यसअघि पनि कांग्रेसको समानुपाति कोटाबाट सांसद बनिसकेका पात्र हुन् । व्यापारिक साम्राज्य खडा गरेर विश्वको चर्चित पत्रिका फोर्ब्समा उनको नाम डलर अर्बपतिको रुपमा प्रकाशनमा आउने गरेको छ । पार्टी विरोधीलाई चुनावमा जिताएर आफुलाई सिध्याउने खेल भएको दाबी गरेका चौधरीले त्यो काम कसले ग¥यो भन्ने भने खुलाएनन् । पार्टीबाट टिकट पाउने वित्तिकै षडयन्त्र भएको उनको दाबी थियो ।
आङ्देम्बेले भने– गगन–विश्वप्रकाशको लोकप्रियताको ग्राफ घट्यो
कांग्रेस रुपान्त्रण गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवाको विपक्षमा आवाज उठाउदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको लोकप्रियता घटेको विषय केन्दीय समिति बैठकमा प्रवेश भएको छ । कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । तर, सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको आङदेम्बेको दाबी छ । कांग्रेस केन्द्रीय समिति बैठक चलिरहेको छ । बैठकमा अधिकांश नेताहरुले महामन्त्रीद्वयमाथि प्रश्न उठाइरहेका छन् । नेतृत्वको रक्षा गर्नुको साटो खुइल्याउने काम भएको भन्दै उनीहरुले महामन्त्रीको विकल्प नै खोज्नुपर्ने बेला आउन सक्ने भन्दै चेतावनी नै दिएका छन् ।
बालकृष्ण खाँणलाई राज्यले फसायोः सहमहामन्त्री यादव
नक्कली शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणमाथि राज्यले अन्याय गरेको विषय कांग्रेस केन्द्रीय समिति बैठकमा प्रवेश पाएको छ । बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले खाँणमाथि राज्यबाट अन्याय भएको दाबी गरेका हुन् । राज्यले खाँणमाथि अन्याय गरेको दाबी गरेका यादवले खाँणमाथि राज्यद्रोहको मुद्दा लगाइएको भन्दै कांग्रेस नेताहरुलाई सके पक्षमा बोल्न र नसके केहि नबोल्न अपिल नै गरेका छन् । हिजो खाँणले अन्य नेताका लागि लाठी खाएको र आज उनीमाथि पर्दा सबै नेताहरु थापिनुपर्ने उनको तर्फ थियो । तर, वालकृष्णविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेको छ ।
एक क्विन्टल सुन प्रकरणमा थप ६ जना पक्राउ
एक क्विन्टल सुन तस्करी प्रकरणमा मालिक पत्ता लगाउनुपर्ने आवाज उठिरहेको बेला राजस्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका २ जना भन्सार कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ । सुन कसले ल्यायो र कसको हो भन्ने विषयमा सर्वाधिक चासो व्यक्त भइरहेको बेला कर्मचारी र भरियामात्रै पक्राउ गरेको भन्दै गुनासो सुनिन थालेको छ । अनुसन्धान चलिरहेको हुनाले यसमा थप प्रगति हुन्छ कि भन्ने अपेक्षा कायमै भएपनि आशंका भने कायमै छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि पक्राउ परेका छन् ।
कोशीमा सर्वोच्चको निर्णय स्वीकार्य : सभामुख घिमिरे
कोशी प्रदेशका सभामुख बाबुराम गौतमबारे सर्वोच्च अदालतले गर्ने निर्णय स्वीकार्य हुने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक गर्दै सभामुख घिमिरेले अदालतमा विचाराधीन सो विषयलाई हस्तक्षेप गर्ने वा प्रभाव पार्ने कुरा हुन सक्ने भएकोले आफूहरूले सो विषयमा छलफल गरेपनि अहिलेनै कुनै निष्कर्षमा पुग्न आवश्यक नदेखेको टिप्पणी गरेका छन् । कोशीको विषयमा गम्भीर छलफल भएको र त्यसबाट शिक्षा लिएर अघि बढ्ने सहमति भएको उनको तर्क थियो । कोशीमा कांग्रेस–माओवादी गठबन्धनको सरकारलाई सभामुखले समर्थन गरेपछि सर्वोच्चमा अहिले मुद्दा चलिरहेको छ ।
कोशी विवाद, मुद्दा हेर्न नमिल्नेमा
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी आइतबार तोकिए पनि हेर्न नमिल्नेमा परेको छ। नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको पेशीको सुनुवाइ हेर्न नमिल्नेमा परेको हो। अब अर्को पेशीमा सुनुवाइ हुनेछ। यसअघि एकल इजलासले नियुक्त भएका मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिँदै अन्तिम सुनुवाइका लागि साउन ७ गतेलाई पेशी तोक्ने निर्णय गरेको थियो। निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की प्रदेश प्रमुखले कानुन मिचेर मुख्यमन्त्री नियुक्त गरेको भन्दै बदरको माग राखी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
महाराष्ट्रमा पहिरो, २७ जनाको मृत्यु, ६० बेपत्ता
भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरोमा परी अन्य ६० जना वेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा उच्च वर्षासँगै खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएको उद्धारकर्मीलाई उद्धरित गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ ठुला यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका छन् । यस क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजी चुनौतीपूर्ण रहेको छ ।