१ पुष ।
कपिलवस्तुको शिवराज ८ बिष्णुपुर देबिपुर स्थित सशस्त्र प्रहरी बल बेस क्याम्पका इन्चार्ज प्रहरी नायब निरीक्षक खगेन्द्र पौडेल (SI) माथि अवैध असुली र दुव्र्यवहारको गम्भीर आरोप लागेको छ। बहादुरगञ्ज–चन्दौटा सडकमा TVS Stycer मोटरसाइकलमा गस्ती गर्दै उनले सर्वसाधारणलाई चेकजाँचको नाममा दुःख दिँदै रकम असुली गरेको स्थानीयले गुनासो गरेका छन्। सामान्य व्यवसायी गाउँगाउँमा घुमेर टिनको भकारी (ट्रङ्क) र कपडा बेच्ने साना व्यापारीदेखि लिएर गाउँको टंकीमा सानो पसलको लागि बहादुरगन्जबाट सामान ल्याउनेहरु पनि SI खगेन्द्रको असुली धन्दाको सिकार बनिरहेका छन्। पैसा नदिए उनीहरूले व्यापारीका सामान लिने गरेको स्थानीयले बताएका छन्।
ठूलो व्यापारमा मासिक ‘सेटिङ’
साना व्यापारीमात्र होइन, व्यवसायिक रूपमा कारोबार गर्नेहरूबाट मासिक रूपमा रकम असुल गर्ने गरिएको छ। युरिया मल कृषि प्रयोजनका लागि आउने बहानामा प्लाइफ्याक्ट्रीलाई आपूर्ति गराउन सहयोग गर्ने नाममा मासिक रूपमा रकम लिने गरिएको खुलासा भएको छ।
जफत सामान बेचेर कमाइ
प्रहरीले अबैध भनेर जफत गरेका प्याज तेल जस्ता सामग्रीलाई समेत बेच्ने गरेको आरोप लागेको छ। अवैध सामान ओसारपसारमा संलग्न तस्करहरूसँग मिलेमतो गरेर बिचौलियामार्फत रकम असुल गर्ने गरेको स्थानीयले जनाएका छन्। आफुहरु बाटोमा गाउँमा लगायत आफ्नो एरियाभित्र चेकिङ लगाउने गरेको सइ खगेन्द्रले स्विकार्दै गर्दै कसैलाई नियतिले दुख नदिएको बताएका छन ।
प्रहरीप्रति जनआक्रोश
चेकजाँचको नाममा सर्वसाधारणलाई अनावश्यक दुःख दिनुका साथै आर्थिक शोषण गर्ने प्रहरी नायब निरीक्षकको व्यवहारप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्। “हाम्रो सामान बेचेर खाने अमानवीय हो,” एक सानो व्यापारीले भने।
सार्वजनिक पदमा बसेर गरिने यस्तो गैरकानुनी कार्य तत्काल रोकिएन भने सशस्त्र प्रहरी बलको छवि धूमिल हुने यस्ता गतिविधिलाई नियन्त्रण गर्न उच्च नेतृत्वको ध्यान आवश्यक छ।