धम्की दिएर अनशन तोडाइएको भन्दै विद्यार्थी नेताहरु प्रदर्शनमा

धम्की दिएर अनशन तोडाइएको भन्दै विद्यार्थी नेताहरु प्रदर्शनमा

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईंलाई धम्की दिएर अनशन तोड्न बाध्य बनाइएको भन्दै विद्यार्थी नेताहरुले विरोध प्रदर्शन गरेका छन् ।

इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा आमरण अनशनमा बसेका चापागाईंको अनशन जबरजस्ति तोड्न लगाइएको भन्दै शुक्रबार विद्यार्थी नेताहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

धाकधम्की र गुण्डागर्दी शैलीमा अनशन तोडाउनु विद्यार्थीकै लागि समेत बदनियत र धोका भएको उनीहरुको भनाइ छ । जसको नीति उसैको नेतृत्व होस् भन्ने प्रष्ट विचारका साथ आफुहरु शुलभ चापागाईंको साथमा रहने प्रदर्शनमा सहभागि नेविसंघ केन्द्रीय सदस्य बासुदेव न्यौपानेले बताए । आफ्नो उद्देश्य सधै विद्यार्थीको हकहितकालागि भएकाले सरकार यसमा गम्भीर बन्नै पर्ने केन्द्रीय सदस्य न्यौपानेको भनाइ छ ।

चापागाईंप्रति प्रतिबद्धता जनाउदै प्रदर्शनमा उत्रेका उनीहरुले विद्यार्थी संगठन प्रमुख र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले गरेको सहमति पत्रको सांकेतिक विरोध गरेका हुन् । प्रदर्शनमा केन्द्रीय सदस्यहरु बासुदेव न्यौपाने, मनोज भट्ट, शेष कुमार विष्टलगाएतका नेताहरुको सहभागिता थियो ।

शुल्क वृद्धिको निर्णय तत्कालका लागि फिर्ता लिएपछि आमरण अनशन स्थगन गरेका चापागाईँले आफूले दबाबमा परेर अनशन तोडेको बताएका थिए । उनी नौ दिनदेखि अनशनमा थिए । त्रिवि पदाधिकारी र विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डिन सहभागी नभएको भन्दै चापागाईँले आपत्ति प्रकट गरेका थिए ।

यसबारे आफूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई जानकारी गराएको तर अध्यक्ष शेर्पाले आफू र आफूलाई सहयोग गरेकाहरुलाई धम्की दिएर अनशन तोडाएको चापागाईँको जिकिर छ ।

‘म स्वयंले असुरक्षित महसुस गरेर राति करिब १२ बजेतिर वीर हस्पिटलको क्याबिन नं. ३०९ बाट निस्केको थिएँ, तसर्थ, हामी सबैको सुरक्षाको माग गर्दै नेपाल सरकार, नेपाली कांग्रेस पार्टी, प्रहरी प्रशासन र सम्पूर्णको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले लेखेका छन् ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *