हेमजा । ढिकुरपोखरी समाज पोखरा पहलमा अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माविमा विद्यालय पोशाक ट्रयाकसुट सहयोग गरिएको छ ।
बिहीबार विद्यालयमा आयोजित समारोहमा समाजमा अध्यक्ष सोमनाथ पौडेल नेतृत्वको टोलीले नर्सरीदेखि कक्षा १० सम्म अध्ययरत १ सय १० विद्यार्थीलाई पोशाक वितरण गरेको हो । ती पोशाकको कुल लागत १ लाख ४७ हजार रुपैयाँ पर्छ ।
कार्यक्रममा पौडेलले गाउँमा योगदान गर्न समाज तयार रहेको बताउँदै विद्यालयलाई शैक्षिकस्तर बृद्धि गर्न सुझाव दिए । वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेलले समाजले महत्वपूर्ण कार्य गरेको चर्चा गर्दै सहयोगको उच्च मूल्यांकन हुने औंल्याए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर गुरुङले समाजप्रति आभार प्रकट गर्दै सहयोगसँगै विद्यालय सञ्चालनमा थप हैसला मिलेको बताए । त्यस अवसरमा समाजका सचिव लोकनाथ भण्डारी, प्रधानाध्यापक महेन्द्रबहादुर कुँवर लगायतले पनि बोलेका थिए ।
यसैबीच, विद्यालयले एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा बधाई ज्ञापन गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले धारापानीले आफ्नो शैक्षिक विरासत जोगाइराख्नुपर्नेमा जोड दिँदै विद्यार्थी संख्या बढाउन पहल गर्नुपर्ने औंल्याए । कार्यक्रममा वडाध्यक्ष पौडेल, शिक्षा अधिकृत बलराम भुगार्इं, विद्यालय अध्यक्ष चन्द्रबहादुर गुरुङ, शिक्षक अभिभावक संघ अध्यक्ष देवी केसी, शिक्षक नारायण पौडेल लगायतले धारणा राखे ।