- सुजन चालिसे
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को राजनीतिक अनुहार मुछिँदै जाँदा यो प्रकरण समाधानतर्फ नगई थप गिजोलिने डर पैदा हुन पुगेको छ । दलहरु आफुपक्षीय आरोपितको सन्दर्भमा नरम देखिँदा विपक्षी आरोपितका लागि भने हदैसम्म कठोर देखिएका छन् । एकरुप भएर छानविनमा सहयोग गर्नुभन्दा नेताहरु आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् । सत्ता र प्रतिपक्षी दलहरु अफ्नो स्वार्थ अनुकूल प्रस्तुत हुँदा यो प्रकरणमा अन्यौलता थपिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सत्तापक्ष र प्रतिपक्षका नेताहरुले आ–आफ्नो स्वार्थअनुरुप व्याख्या गर्दा थप गिजोलिएको छ । यो प्रकरणमा नेकपा एमालेका पदाधिकारी तहकै नेताहरु तानिएका छन् । पछिल्लो समय नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण दम्पती देखि आरजु देउवासम्मको नाम मुछिएको छ । एमालेले आफ्ना नेताविरुद्द छानविनको प्रक्रिया अगाडी बढाएपनि सत्तापक्षका नेताहरुको नाम मुछिँदा सरकारले वास्ता नगरेको आरोप लगाएको छ । अझ यो प्रकरणमा सरकारलाई साथ दिनुभन्दा यसअघिका भ्रष्ट्राचार प्रकरण खोतल्न भन्दै सरकारलाई चुनौति दिइरहेको छ ।
अर्को प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि सरकारलाई पत्याएको छैन । सरकारको कदममा ऐक्यबद्दता जनाउनु भन्दा यसलाई कर्मकाण्डी कदमको संज्ञा राप्रपाले दिएको छ ।
यो प्रकरणमा आरोपित सांसद टोपबहादुर रायमाझी भने अझै फरार छन् । उनलाई पक्राउ नगरेर सरकारले नै संरक्षण गर्न खोजेको आरोप प्रतिपक्षी नेताहरुले लगाईरहँदा माओवादी सांसदहरुले भने एमालेले नै उनलाई लुकाएर राखेको आरोप लगाएको छ । आफ्ना सांसदलाई बचाउनका लागि प्रधानमन्त्रीलाई दवाव दिन खोजेको आरोप नेपाली कांग्रेसको छ ।
अनुसन्धान अघि बढ्दै जाँदा सत्ता र प्रतिपक्ष दुवै तर्फका नेताहरु नक्कली शरणार्थी प्रकरणमा मुछिँदै गएका छन् । यसमा छानविनका लागि सबै दल एकवद्द भएर तदारुकता देखाउन जरुरी छ । दलगत आवद्दताका आधारमा आरोप प्रत्यारोपमै अल्झिँदा यो प्रकरण थप गिजोलिने डर पैदा हुन पुगेको छ ।




