
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताएका छन् ।
सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङ गर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उनको आक्रोश थियो । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसदको काम-कारबाहीलाई रोकेर भए पनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गरे ।
उनले अन्तर्राष्ट्रिय जगतको समेत ध्यानाकर्षण भईरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनि सरकारलाई पटकपटक प्रश्न समेत गरे । सांसद गैरेले भने, ‘प्रतिनिधिसभाको २६ गते र २७ गतेको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विक्री वितरण गर्ने मानव तस्करीको कामको विरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो । र, २७ गतेको बैठकमा स्वयम सभामुख महोदयले सरकारलाई संसदको तर्फबाट जानकारी गराउनका लागि रुलिङपनि भएको थियो । तर आजको कार्यसूचिमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूचि मैले देखिन । म माननीय सभामुखज्यूको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु । र, भन्न चाहन्छु–यस्तो अपराधजन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलाई आएर यस्तो भएको छ । यति प्रगति भएको छ । हामी यो गर्दैछौं भनेर भन्न के कारणले समस्या भईरहेको छ ? आज देशव्यापी रुपमा यो भ्रष्टाचारको विरुद्धमा सिंगो देश आन्दोलित छ । अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण भएको छ । संसद चलिराखेको छ । र, सरकारले अहिले पनि यसको अनुसन्धानमा ढिलासुस्ती, आजटाल गरिरहेको छ । र, जनतालाई यसको निष्पक्ष छानविन हुन्छ भन्ने विश्वास छैन ।’
अस्ति २८, २९ र ३० गते बसेको नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले संस्थागत रुपमा यसमा निष्पक्ष छानविन गर्न र दोषीलाई कारबाही गर्न माग समेत गरेको उनले जानकारी दिए । यस सन्दर्भमा सरकारले पनि सदनलाई जानकारी दिनुपर्ने उनकाे माग छ । सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए ।