नयाँ पार्टीप्रति कटाक्ष गर्दै विश्वप्रकाशले भने– ‘खहरेबाट बिजुली निकाल्न सकिँदैन’

नयाँ पार्टीप्रति कटाक्ष गर्दै विश्वप्रकाशले भने– ‘खहरेबाट बिजुली निकाल्न सकिँदैन’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन् ।

पुराना पार्टीका दिनहरु गए भन्दै उदाएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने उनको भनाइ छ । उनले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताएका हुन् । निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सन नयाँ राजनीतिक दलहरुसँग उनले आग्रह समेत गरे ।

महामन्त्री शर्माले काँग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको बताए । उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोताजा बनाउने दाबी पनि गरे ।

‘नेपाली काँग्रेस पार्टी आज अझै बलियो बन्नुपर्नेछ । नेपाली काँग्रेस पार्टी विगतमा भन्दा अझै परिपक्व, अझै संयमित र अझै एकतावद्ध बन्नुपर्ने बेला छ,’ उनले भने, ‘त्यसैले सबै साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु । नेपाली काँग्रेसको साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्छ । राष्ट्रव्यापी रुपमा अभियान घोषणा गर्छ । विभाग गठनको प्रक्रिया शुरु गर्छ, त्यो पुरानो दललाई तरोताजकी बनाएर नविन बनाउने क्रम शुरु गर्छ । कतिले भन्दै गर्दा अब पुराना दलका दिन गए, अब नयाँ आए भन्दै गर्दा तिनीहरुले बिर्सिएका छन्, यो धर्ती पनि पुरानो हो । हाम्रा धर्मशास्त्र, संस्कृतिहरु पनि पुराना हुन् । यो देश आफैँमा पनि पुरानो हो । पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन । हामीले बिर्सिनु हुँदैन । निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन ।’

महामन्त्री शर्माले कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मिटरब्याजबिरुद्धको विधेयकमाथि चुनौती आउन लागेको’ भन्ने कुरा राखेको भन्दै मन्त्रीहरुबाट यस्तो जवाफ सुन्न नचाहेको बताए । उनले सबैखालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसदमा ल्याउनुपर्नेमा जोड दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *