बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् ।
सोमवार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन् ।
आईतवार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको भन्दै उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने पनि बताए । उनले वित्तीय नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बता । अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत उनले गरे ।
‘हिजोमात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलो पन ल्याउनुपर्छ भन्दै आएको थिएँ । त्यही खुकुलो आएको छ,’ अर्थमन्त्री महतले भने, ‘अरु पनि केही पहलहरु भएका छन् । त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर कम भएर जान्छ । लगानीको वातावरण सहज बनाउँछ । वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने । जस्तो अहिले मूल्यवृद्धि समग्रमा घटेको छ । कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ । विसंगतिहरुलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा हामी अघि बढेका छौँ । त्यही अनुसार सरकार र काँग्रेस पार्टी पनि बलियो बनाउने, एकतावद्ध भएर अघि बढ्ने, बाहिर एउटा, भित्र एउटा नभइ एउटै कुरामा जोड दिने हो । हामी व्यक्तिका नभइ पार्टीका कुरा गर्ने हो, पार्टीले देशका र जनताका कुरा गर्ने हो ।’



