निजामती कर्मचारीका सन्ततिलाई करोडौं रुपैयाँ, ७ लाख युवा विदेशिए !

निजामती कर्मचारीका सन्ततिलाई करोडौं रुपैयाँ, ७ लाख युवा विदेशिए !

काठमाडाैँ । सरकारले निजामती कर्मचारीका सन्ततिलाई १७ करोड ८१ लाख ८६ हजार ५ सय ८९ रुपैयाँ बाँड्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्नातक तहमा पढ्ने विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम बाँड्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार स्नातक तहमा पढ्ने कूल ६ सय ८७ जना विद्यार्थीलाई उक्त रकम बाँड्न लागिएको हो । जसमा चिकित्साशास्त्रका १४४ जनालाई ७ करोड १७ लाख, स्वास्थ्य विज्ञान संकायका २९ जनालाई ६४ लाख ८० हजार, इन्जिनियरिङ संकायका २२९ जनालाई ५ करोड ६९ लाख ७ हजार ७ सय ५८ रुपैयाँ र व्यवस्थापन संकायका ११९ जनालाई एक करोड ४२ लाख ८५ हजार ५ सय ३१ रुपैयाँ बाँड्न लागेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख नाघ्यो

वैदेशिक रोजगारीका लागि अहिलेसम्मकै सबैभन्दा धेरै जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको असार १६ गतेसम्म सात लाख ४० हजारभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम स्वीकृति लिएर प्रत्येक महिना ६० हजारभन्दा बढी युवाहरू विभिन्न मुलुकमा पुग्ने गरेको तथ्यांक विभागको छ । यो सँगै हालसम्म सात लाख बढीले श्रम स्विकृतीको अनुमती पाएका छन् । आर्थिक वर्ष २०५०÷५१ मा ३ हजार ६ सय ५ जनाले श्रम स्वीकृति लिएकोमा आर्थिक वर्ष २०७८/७९ यता वैदेशिक रोजगारीमा जानेको संख्या फेरि बढ्न थालेको हो । यो वर्ष ६ लाख ३० हजार भन्दा बढीले श्रम स्वीकृति लिएका थिए ।

एमसीएले वितरण गर्यो एक अर्ब २६ करोड मुआब्जा

मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित सबस्टेसन निर्माणको लागि स्थानीयलाई मुआब्जा वितरण गरेको छ । एमसीए नेपालका अनुसार रातमाटे सबस्टेसनका लागि एक सय ७५ परिवारलाई एक अर्ब २६ करोड रुपैयाँ वितरण गरेको हो। सडक विभागलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरिएको, उपकरण प्रयोगबारे प्रशिक्षण र इन्जिनियरलाई तालिम दिइएको, प्रयोगशाला निर्माणसम्पन्न गरिएको एमसीए नेपालले जनाएको छ । नेपाल सरकार र एमसीए नेपालबीच भएको सम्झौताअनुसार चार सय केभी क्षमताको तीन सय १२ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिनेछ । यसअन्तर्गत भारतीय सीमादेखि बुटवल, बुटवल–दमौली, दमौली–रातामाटे ९नुवाकोट०, रातमाटे हेटौंडा र रातामाटे लप्सीफेदी ९काठमाडौं० प्रसारण खण्ड निर्माण गरिनेछ । रातमाटे, दमौली र बुटवलमा तीनवटा चार सय केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन्  । सोही कार्यलाई अघि बढाउने क्रममा मुआब्जा वितरण तथा जग्गा प्राप्तिलगायतको कामहरू भएको हो ।

मनसुन प्रभाव : दुई सातामा तीन गुणाले बढ्यो आर्थिक क्षति

यो वर्ष मनसुन भित्रिएको १९ दिनमा तीन गुणाले आर्थिक क्षति बढेको छ । गत वर्ष मनसुनको यहीँ अवधिमा ५० लाखको भौतिक क्षति भएकोमा यस वर्षको सोही अवधिमा भने ४ करोडको क्षति भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष यो अबधिमा १५ वटा मात्रै घटना भएकोमा यसपटक ७७ वटा विपदजन्यु घटना भएको छ । गत वर्ष कोही पनि वेपत्ता नभएकोमा अहिले २१ जना वेपत्ता भएका छन् भने १८ जिल्लाका १ सय ७ घर प्रभावित भएको छ । पूर्वी नेपालको ताप्लेजुङ, पाँचथर, संखुवासभामा ठूलो क्षति भएको र सो क्षेत्रका कतिपय पुलसमेत बगाएको छ ।

सप्तकोशीका पूर्व सीइओविरुद्ध सम्पति शुद्धीकरणको मुद्दा

सम्पति शुद्दीकरण अनुसन्धान विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले उनी विरुद्द १ करोड १८ लाख ७७ हजार ७ सय रुपैया ६५ पैसा बिगो मागदाबी गर्दै आज मुद्दा गरिएको हो । विभागले उनको छोराछोरीको नाममा रहेको सम्पति समेत जफत गर्न माग गरेको छ । सुवेदीले सम्पत्ति लुकाउन प्रयोग गरेका हरिकुमारी सुवेदी एवं वविता पोखरेल सुवेदी समेतलाई शुद्धीकरण गरिएको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका अनुसार २०७२ मा नै सुवेदीमाथि आवश्यक कागजात समेत नराखी फर्जि कारोवार गरी बैंकलाई १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हानी नोक्सानी पुर्याएको बैंकिङ कसूरमा अनुसन्धान तथा कारवाहीको लागि उजुरी परेको थियो ।

नेप्सेमा ओरालो कायमै

लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्कले घटेको छ । गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार २१.३२ अङ्कले घटेर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । सोमबार २७६ धितोपत्रको ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता कारोबार भएको छ । घटेको बजारमा लगानीकर्ताले सेयर बिक्री गर्न नचाहेको देखिएको छ । त्यसो हुँदा सोमबार कारोबार रकम ४ अर्ब ५ करोड १० लाखमा सीमित भएको छ । यसले किन्न चाहने लगानीकर्ता पनि पर्ख र हेरको स्थितिमा रहेको देखिन्छ । होटल र टुरिजम तथा व्यापार उपसूचकका लगानीकर्ताले कमाए भने अरु सबै उपसूचकका लगानीकर्ताले गुमाएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *