
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । आइतबार लगानी बोर्डको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले बोर्डलाई चुस्त तथा प्रभावकारी रुपमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताएका हुन् । प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन समेत दिएका छन । गत आवमा बोर्डको कार्यालयबाट भएका कामले देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित निजी क्षेत्रको लगानी जुटाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
तातोपानी नाका मान्छेका लागि पनि खुला
नेपाल र चीनबीचको पुरानो नाका तातोपानी मानिसका लागि पनि खुला गरिने भएको छ । आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानवलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो । नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत १८ वैशाख ०८० देखि तातोपानी नाकाबाट आयात–निर्यात हुने गरी दुईतर्फी सञ्चालनमा आयो । तर, मानिस आवतजावत भने अझैसम्म खुला गरिएको थिएन । नेपालले मानिसका लागि समेत नाका खुला गरिनुपर्ने माग गर्दै आएको थियो ।
१ सय ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट बाहिरियो
पछिल्लो १० दिनमा बैंकिङ प्राणालीबाट १ सय ५० अर्ब रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष सुरु भएसँगै १० दिनमै प्राणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको छ । साउन १० गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा ५६ खर्ब १७ अर्ब निक्षेप छ । प्रणालीबाट निक्षेप घटेसँगै कर्जा विस्तार समेत खुम्चिएको छ । गत असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकोमा साउन १० गतेसम्म २९ अर्बले घटेर ४८ खर्ब ५० अर्बमा झरेको हो । साथै, निक्षेपसँगै प्राणालीबाट कर्जा प्रवाह घट्दा कर्जा निक्षेपअनुपात (सीडी रेसियो) बढेर ८३.२७ प्रतिशत पुगेको छ । यस्तै असार मसान्तमा अन्तर बैंक कारोबार दर ०.५३ रहेकामा अहिले बढेर ६.०५ प्रतिशत पुगेको छ ।
आवाजबाटै क्युआर भुक्तानीको जानकारी पाइने
क्युआर कोडमार्फत भएको भुक्तानीबारे जानकारी अब आवाजबाटै तत्काल प्राप्त हुने भएको छ । एनआइसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको हो । बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्टहरूले उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टका अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको जानकारी पाउने बैंकले जनाएको छ ।
मनैद्रिक नीति ठिक छ : सीबीफीन
आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले वर्तमान चुनौतीपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गर्दै जारी मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बताएको छ । आइतबार एक विज्ञेप्ती जारी गर्दै वित्तीय एवं व्यवसायिक क्षेत्रको समस्याहरुको दिगो समाधान गर्नका लागि केही व्यवस्थाहरु सकारात्मक जनाएको हो । तथापी, मौद्रिक नीतिले सरोकारवाला पक्षले पेस गरेका कतिपय महत्वपूर्ण सुझावलाई भने बेवास्ता गरेको सिबिफिनको ठहर छ । सिबिफिनले केही सुधारको अपेक्षासहित मौद्रिक नीतिमा ७ बुंदे सुझाव पनि दिएको छ ।