
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता छोटो समयमै विग्रहमा पुग्यो ।
तत्कालीन नेकपा अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि प्रतिगमन भयो भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बहुमत पार्टी सदस्य र सांसद लिएर ओलीलाई कारबाही गरे ।
ओली पार्टीको साधारण सदस्य समेत नरहेपछि ओलीले पनि यस्तै गरे । त्यसपछि पार्टी विभाजन भयो ।
अहिले विभाजनको तीन वर्षीय यात्रामा पुग्दा नेकपा विभाजन किन भयो ? यसका कारण के थिए ? लगायत विषयको खोजी हुनुपर्ने मागहरु अब शीर्ष नेताहरुबाटै आउन थालेको छ ।
कम्युनिष्ट जनमतले पार्टी एकता गर भन्ने सन्देश दिएको भन्दै एमाले माओवादी केन्द्रबीच आकस्मिक एकता भयो ।
आकस्मिक रुपमै भएको पार्टी एकताले केपी ओलीलाई प्रधानमन्त्री बनायो । शानदार बहुमतको प्रधानमन्त्री बनेका ओलीले लामो समय सत्ता सञ्चालन गर्न भने पाएनन् ।
ओली र प्रचण्डबीच चलेको सत्ता संघर्षका कारण पनि एकतामा समस्या देखा परेको दाबी गरिन्छ ।
एकले अर्कोलाई प्रशंसा गर्ने गरेका ओली प्रचण्ड एकाएक वर्ग दुस्मन बने । ओली प्रतिगमनकारी ठहरिए ।
सर्वोच्च अदालतले ओलीले गरेको संसद विघटनलाई मान्यता नदिएपछि ओली राजनीतिक रुपमा संकटमा घेरिए ।
यसरी नै कारबाहीको श्रङ्खला चलेपछि सर्वोच्च अदालतले नेकपाको एकता नै भंग गरिदियो । नेकपा नामविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने ऋषी कट्टेलले माग नै नगरेको विषयमा सर्वोच्च प्रवेश ग¥यो ।
सर्वोच्चले नाम विवादमा पार्टी एकता नै भंग गरिदिएपछि एमाले–माओवादी फेरि सक्रिय बने । दृश्यमा देखिएका यी विषयले पार्टी एकता टुट्नुको पछाडिका कारणहरु संसद विघटन र सत्ता संघर्ष नै देखिन्छ ।
तर, यतिमात्रै नभई पार्टी एकता टुट्नुका कारणहरु विश्लेषण हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीले माग गरेका छन् ।
ओलीले नेकपा विघटन हुनुका कारणहरुको खोजी हुनुपर्ने बताउदा यसबारे थुप्रैले चासो व्यक्त गर्नु सामान्य पनि हो ।
छरिएको कम्युनिष्ट जनमतलाई एकताबद्ध गरेको भन्दै ओली–प्रचण्डलाई धेरैले दुरगामी नेताको रुपमा समेत अर्थ्याउन थालेका थिए । तर, ओलीले प्रधानमन्त्री हुँदै बालुवाटारमा रअ प्रमुखलाई भेटेकोदेखि विभिन्न आरोप लगाउने गरेको प्रचण्ड नेतृत्वको त्यसबेलाको नेता टिमले भने आफ्नो कारण पार्टी फुटेको स्वीकार गर्न तयार देखिन्न ।
विशाल बनेको नेकपा विघटनका पछाडी आन्तरिक कारण मात्रै थिए ? यो अहम प्रश्न बनेको छ ।
पार्टी विभाजनको बेला चिनियाँ राजदूत होउ यान्छिको दौडधुप होस वा अन्य देशका राजदूतको सक्रियता नै किन नहोस ।
यसका पछाडिको कारण के थियो भन्नेबारे खोज अनुसन्धान हुनुपर्ने माग विस्तारै वलियो बन्दै गएको छ ।
राजनीतिक अस्थिरताको कारक बनेको नेकपा विभाजनले न्याय पाउला ? अब यो प्रश्न थप पेचिलो बन्ने देखिएको छ ।
यस्तै, नेकपा विभाजनको कारण खोज्न प्रचण्ड–माधव नेपालहरु तयार होलान ? यो पनि अहम् विषय बन्नेछ ।