
- गणेशमान बस्नेछन्
काठमाडौं ।। नेपालमा बेरोजगारको संख्या दिनानुदिन बढ्दै गएको छ । सरकारले वर्षेनी ठूलो संख्यामा आउने नयाँ युवा जनशक्तिलाई स्वदेशमै उपयोग गर्न नपाउँदै वैदेशिक रोजगारीमा पठाउँदै आएको छ । तर, नेपालको निजी औद्योगिक क्षेत्रमा बर्सेनि ठूलो संख्यामा विदेशबाट दक्ष जनशक्ति ल्याउनु पर्ने बाध्यता छ ।
यसको अर्थ एकातिर नेपालमा दक्ष जनशक्तिको अभाव छ भने अर्कोतर्फ विद्यमान जनशक्तिको सही उपयोग हुन सकेको छैन । त्यसोभए अहिले देशमा रोजगारी वा सीपको अभाव छ ? भन्ने प्रश्न उठेको छ ।
नेपालमा हरेक वर्ष करिब ५ लाख नयाँ युवा श्रम बजारमा प्रवेश गर्छन् । सरकारले स्वदेशमै जनशक्तिलाई रोजगारी दिन नसकेपछि विदेश जान बाध्य भएको छ । तर नेपालको उद्योगमा कामदारको अभाव छ ।
ग्रिल स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले नेपालको औद्योगिक क्षेत्रमा काम गर्न दक्ष जनशक्ति नहुँदा विदेशी कामदार ल्याउन महँगो श्रम तिर्नुपरेको बताए ।
नेपालमा ११ हजार मात्रै ग्रिल उद्योग छन् । जसमध्ये काठमाडौं भित्र ४ हजार २ सय छन् । तर ती उद्योगमा दक्ष जनशक्ति नहुँदा ठूलो संख्यामा विदेशी कामदार ल्याउनुपर्ने कटुवालले बताए ।
त्यसैले सरकारले निजी क्षेत्रलाई आवश्यक सहजीकरण गरी रोजगारीका सम्भावना उजागर गर्नुपर्ने कटुवालको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा बर्सेनि करिब पाँच लाख नयाँ जनशक्ति उत्पादन हुने भए पनि भारत, पाकिस्तान, भुटानलगायत मुलुकबाट दक्ष जनशक्ति ल्याउनु पर्ने बाध्यता रहेको बताए ।
सीपको अभावमा नेपालमा ठूलो युवा जनशक्ति बेरोजगार हुनुको साथै वैदेशिक रोजगारीमा जाने कामदारले पनि सीप नहुँदा न्यून पारिश्रमिकमा काम गर्नुपर्ने उनको भनाइ छ ।
देशको कुल आम्दानीमा निजी क्षेत्रको ८० प्रतिशत योगदान रहेकोले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने व्यवसायीहरुको दाबी छ ।
उद्योगीहरुका अनुसार चर्को ब्याजदर बृद्धि, उद्योग व्यवसाय गर्दा उत्पन्न हुने सरकारी नीतिगत समस्या जस्ता समस्या सरकारले तत्काल समाधान गरी व्यवसायको वातावरण तयार गर्नुपर्ने उद्योगीहरु बताउँछन् ।
सरकारले निजी क्षेत्रलाई उद्योग विस्तार गर्न र देशकै युवा जनशक्तिलाई सीपमा दक्ष बनाउन प्रोत्साहन गरेमा अहिलेको बेरोजगारी समस्या समाधान हुन्छ ।