
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले बिगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको जनाएको छ । विगत नौ वर्षमा ग्रिड सबस्टेसनहरुको क्षमता ८ हजार ८ सय ६७ एमभिए पुगेको छ । नौ वर्षअघि आर्थिक वर्ष २०७१/७२ मा सबस्टेसनहरुको क्षमता २ हजार १ सय ३२ एमभिए मात्र रहेकोमा आ.व. २०७९/८०मा आइपुग्दा सबस्टेसनहरुको क्षमता ६ हजार ७ सय ३५ एमभिए बढेको प्राधिकरणको भनाई छ । यस्तै, लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले जनाएको छ । अहिले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालयमार्फत प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरुको निर्माण कार्य गरिरहेको प्राधिकरणले जनाएको छ ।
वित्तीय साक्षरतासम्बन्धी ज्ञान बैंकरलाई पनि आवस्यक : गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताए । उनले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने दाबी गरे । यस्तै, राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंक भित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको उनले बताए । वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको गभर्नर अधिकारीको भनाई छ ।
नागढुङ्गा–मुग्लिन सडक खण्डको मर्मत हुँदै
सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षा याममा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका आयोजना पूर्वी खण्डका योजनाले जनाएको छ । पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम भएको आयोजनाले जनाएको छ ।
‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ आवेदन खुल्ला
कम्प्युटर एसोसिएसन नेपाल महासंघले ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ आवेदन खुल्ला गरेको छ । प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको आंशिक तथा पूर्ण छात्रवृत्ति यस वर्ष पनि ४९ जना विद्यार्थीले पाउने महासंघले बताएको छ । जसमा नेपालको प्रत्येक प्रदेशबाट एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने महासंघको भनाई छ । महासंघकाअनुसार, उक्त छात्रवृत्तिका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सोसरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्ने छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृति कार्यक्रमअन्तर्गत हालसम्म एक सय १० जना विद्यार्थी लाभान्वित भएका छन् ।
भारतले महंगो बासमती मात्रै निर्यात गर्ने
पछिल्लो समय भारतले चामलका विषयमा लिएको नितिले विश्वभर नै तरंग पैदा गरेको छ । केहि समय अघि सेतो चामल निर्यातमा रोक लगाउने निति लिएको भारतले अहिले भने महँगो बासमती चामलको मात्रै निर्यात गर्ने भएको छ । जसमा प्रति टन १२०० अमेरिकी डलरभन्दा मुनिको बासमती चामल अन्य मुलुकमा निर्यात नगर्ने निर्णय कार्यान्वयन गर्न व्यापार प्रवर्द्धन निकाय ‘एपेडा’ (कृषि तथा प्रंशोधित अन्न उत्पादन निर्यात विकास अख्तियार) लाई निर्देशन जारी गरिएको छ । मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक आपूर्ति बढाउने उद्देश्यले भारतले निर्यातमा एकपछि अर्को निर्णय गर्दै आएको छ ।